मंसिर ९ बाट कक्षा १२ काे परिक्षा शुरू, परीक्षार्थीको स्वास्थ्य विद्यालयको जिम्मा

काठमाडौं / कक्षा १२ काे परिक्षा मंसिर ९ बाट शुरू हुदैछ । कोभिड-१९ का कारण स्थगित भएकाे परिक्षा विद्यालयमै दिने व्यवस्था मिलाइएको छ । कक्षा १२ को परीक्षाका लागि चार लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् । आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर १४ हजार विद्यार्थीले आफूले अध्ययन गरेको भन्दा फरक विद्यालयबाट परीक्षा दिन आवेदन दिएका छन् ।

परीक्षा बोर्डले कोभिड-१९ संक्रमित विद्यार्थीलाई भने परीक्षामा नबस्न भनेको छ । परीक्षाका बेला संक्रमित भए सरकारबाट मान्यता प्राप्त प्रयोगशालाको रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने बताइएकाे छ । विद्यालयहरूले ४० प्रतिशत अंकको परीक्षा सञ्चालन गर्न लागेका हुन् । सैद्धान्तिकतर्फको अङ्कभारलाई सत प्रतिशत मानी सोको ४० प्रतिशत कायम गरिएको बोर्डले जनाएको छ । परीक्षाको अधितम समय साढे एक घण्टा तोकिएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मुल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधिमा स्थानीय तह र स्वास्थ्य संस्थाको सहयोगमा परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्न भनिएको भएपनि अधिकांश विद्यालयमा हेल्थ डेस्क स्थापना नगरेकाे बुझिएकाे छ । कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने यकिन नभएको र शैक्षिक सत्र गुम्नै लागेपछि बाध्य भएर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्नुपरेको बोर्डका अधिकारीहरू बताउँछन् ।

जनस्वास्थ्यविद्हरू परीक्षा सञ्चालन नै हुने भएपछि अब परीक्षार्थीको स्वास्थ्यको जिम्मेवारी विद्यालयको काँधमा पुगेको बताउँछन् । सरुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनी हावा खेल्ने परीक्षा हल, साबुन पानी, सेनीटाइजर, थर्मल गन, परीक्षा सामग्री आदीको व्यवस्था सम्बन्धित विद्यालय नै गर्नुपर्ने बताउँछन् । पानी खाने भाँडा, हाजिरी कपी, प्रश्नपत्र, उत्तरपुस्तिका, इरेजर, रुलर लगायतका सामग्री प्रयोगमा उच्च सावधानी अपाउन उनको सुझाव छ । परीक्षा हलभित्र कुनै पनि सामग्री एकअर्कालाई प्रयोग गर्न दिन नहुने उनी बताउँछन् । ‘एउटा परीक्षार्थी र अर्को परीक्षार्थीबीचको दुरी कम्तिमा दुई मिटर हुनुपर्यो, परीक्षा अवधिभर मास्क खोल्न दिनु भएन’ डा. मरासिनी भन्छन्, ‘विद्यार्थीको स्वास्थ्य विद्यालयकै हातमा छ ।’

प्रतिक्रिया

सम्बन्धित