पैसा नहुँदा शव छाडेर घर लागे आफन्त

विराटनगर। कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव विराटनगरको विराट नर्सिङ होममा (विराटनगर अस्पताल) अलपत्र परेको छ । उपचार खर्च तिर्न नसक्ने भन्दै आफन्त घर लागेपछि शव अस्पतालमै अलपत्र परेको हो ।

सिरहा विष्णुपुर गाउँपालिका–२ का ३५ वर्षीय अरुणकुमार यादवको २५ कात्तिकमा मृत्यु भएको थियो । तर उपचार खर्च नतिरेसम्म अस्पतालले शव नदिने भन्यो । पैसा नभएपछि आफन्त घर फर्किएका हुन् । विपन्न परिवारका अरुणको उपचारका लागि श्रीमती प्रमसिलाले ऋणपान गरेर अस्पतालमा एक लाख चार हजार रुपैयाँ डिपोजिट गरेकी थिइन् । भेण्टिलेटरमा राखेर उपचार गरिएका उनको दैनिक बेडचार्ज ५० हजार रुपैयाँ थियो । उपचारको बिलसँगै ल्याब र औषधि खर्च पनि बढ्दै गयो । तर अवस्थामा सुधार आएन् । अस्पताल भर्ना भएको ८ दिनपछि २५ कात्तिकमा उनको निधन भयो ।

मृत्युपछि अस्पतालले ४ लाख ७७ हजार ५ सयको बिल दिएको छ । तर आफन्तसँग तिर्नसक्ने क्षमता छैन । भएभरको पैसा अस्पतालमा अग्रिम डिपोजिट गरेकी थिइन् । अन्तिम संस्कारका लागि शव माग्दा अस्पतालले दिन मानेन् । अस्पताललाई तिर्ने पैसा ल्याउने स्रोत नभएपछि शव छाडेर आफन्त घर गएका हुन् । अस्पतालले पनि मृतकका आफन्त सम्पर्कविहीन भएकाले आफन्त बोलाएर उपचार खर्च उठाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित