सुकुना क्याम्पसद्वारा कक्षा ११ र १२ को पाठ्यक्रमको प्रवोधीकरण कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसकाे आयोजनामा जुम सफ्टवेयरको प्रयोग गरी भच्र्चुयल माध्यमबाट कक्षा ११ तथा १२ का अनिवार्य विषयहरूकाे तीन दिवसीय प्रवाेधीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वर्तमान अवस्थामा कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालका शैक्षिक संस्था, प्राज्ञिक गतिविधि तथा जीवन पद्धतिलाई नै नकारात्मक प्रभाव पारिरहेको प्रतिकूल अवस्थामा अङ्ग्रेजी, सामाजिक शिक्षा साथै जीवनोपयोगी शिक्षा र नेपाली पाठ्यक्रमको प्रवाेधीकरण कार्यक्रम सञ्चालन गरेको थियाे । कार्यक्रममा प्रदेश नं १ र २ मा कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम सञ्चालन गरेका सबै विद्यालय , क्याम्पसहरू तथा अन्य प्रदेशका शैक्षिक संस्थाहरूलाई पनि प्रतिनिधिमूलक रूपमा सहभागी गराइएको थियो ।कार्यक्रममा कक्षा ११ र १२ मा अनिवार्य अङ्ग्रेजी अध्यापन गर्ने ३ सय शिक्षकहरू सहभागी भएका थिए ।

पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक केशवप्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रमकाे दोस्रो सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका अङ्गे्जी विषयका विज्ञ शङ्कर अधिकारीले सो विषयको पाठ्यक्रमका विषयवस्तु, पाठ्यवस्तु, शिक्षण विधि र मूल्याङ्कन विधिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसका अङ्ग्रेजी विषयका विज्ञ प्राडा बालमुकुन्द भण्डारीले अङ्ग्रेजी विषयमा भाषिक सक्षमताका क्षेत्र र शिक्षण तथा मूल्याङ्कन विधिका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणराज नेपालले अङ्ग्रेजी भाषामा सिर्जनात्मक तथा समालोचनात्मक साहित्यिक विषयवस्तुको प्रयोग तथा यसका चुनौतीहरूका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा व्यवस्थापन कार्यालय प्रदेश नं १ का निर्देशक डम्बरकुमार बतास , शिक्षा विकास निर्देशनालय प्रदेश नं १ का निर्देशक राजेन्द्र बुढाथोकीले कार्यक्रमलाई सम्बोधन गरी सफलताको शुभकामना व्यक्त गरेका थिए । पहिलो दिनको सो कार्यक्रममा सहभागीहरूलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत गरेका थिए । क्याम्पस प्रमुख चन्द्रमणि राईले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै पहिलो दिनको कार्यक्रम समापन गरेका थिए ।

दोस्रो दिनकाे कार्यक्रममा कक्षा ११ र १२ मा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्यापन गर्ने ३ सय भन्दा बढी शिक्षकहरू सहभागी भएका थिए ।

कार्यक्रममा सहभागीहरूलाई कक्षा ११ र १२ कार्यक्रमका संयोजक तथा उपप्राध्यापक कान्ता सुवेदीले स्वागत गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथिको रूपमा नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष शिवराम सञ्जेलले सम्बोधन गरेका थिए। अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिका शिक्षा शाखाका उपसचिव दामोदर चापागाईँले सम्बोधन गर्दै सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक गणेशप्रसाद भट्टराईले पाठ्यक्रम तर्जुमाका प्रक्रिया, चरण र कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने उपायहरूका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

पाठ्यक्रम विकास केन्द्रका सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका विज्ञ हेमराज खतिवडाले सो विषयकाे अावश्यकता , पाठ्यक्रम कार्यान्वयन, शिक्षण तथा मूल्याङ्कन विधिका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सुकुना क्याम्पसका अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख तथा उपप्राध्यापक गणेशप्रसाद दहालले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाका उद्भव, सिद्धान्तहरू, आश्यकता, चुनौतीहरू र कार्यान्वयनका लागि सुझाव तथा समालोचनात्मक टिप्पणी सहितको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमकाे अन्त्यमा क्याम्पसका सहायक क्याम्पस प्रमुख केशवराज भट्टराईले कार्यक्रमको समीक्षा गरेका थिए । दुवै दिनको कार्यक्रमको सञ्चालन क्याम्पसका उपप्राध्यापक नरप्रसाद भण्डारीले गरेका थिए । अन्त्यमा क्याम्पस प्रमुख चन्द्रमणि राईले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रमको तेस्रो दिन अनिवार्य नेपाली विषयको अध्यापन गर्ने ३ सय भन्दा बढी शिक्षकहरू सहभागी भएका थिए । सो दिनको पहिलो सत्रमा प्रमुख अतिथिका रूपमा पूर्वक्याम्पस प्रमुख तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले सम्बोधन गरेका थिए । अतिथिका रूपमा शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख दीर्घध्वज चापागाईँले कार्यक्रमको महत्व सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा उपस्थित सबैलाई उपप्राध्यापक नरप्रसाद भण्डारीले स्वागत गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका नेपाली विषयका विज्ञ इन्दु खनालले अनिवार्य नेपाली विषयको पाठ्यक्रमका अङ्गहरू, शिक्षण तथा मूल्याङ्कन विधि, चुनौतीहरू र पाठ्यपुस्तको समीक्षा गरेका थिए ।

यही क्रममा त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसका प्राडा रमेशप्रसाद भट्टराईले भाषा शिक्षणका सिद्धान्त, रणनीति, पाठ्यक्रम कार्यान्वयनको तरिका र चुनौतीको सूक्ष्म विश्लेषण गरेका थिए । सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपकप्रसाद न्यौपानेले पाठ्यक्रमको झलक सहित पाठ्यक्रम र पाठ्यपुस्तकको समीक्षा गर्दै प्रस्तुतीकरण गरेकाे थिए । कार्यक्रमको अन्तमा पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल क्याम्पस एकाइ समितिका अध्यक्ष तथा व्यवस्थापन सङ्कायका संयोजक बलराम पोखरेलले तीन दिने कार्यक्रमका उपलब्धिहरू र आगामी दिनका कार्यक्रमको समीक्षा गरेका थिए ।

प्रस्तुत तीन दिनकै कार्यक्रमको लागि प्राविधिक सहजीकरणको काम क्याम्पसका शिक्षक धर्मकुमारी कालाखेतीले गरेका थिए । भने सो कार्यक्रमको प्रतिवेदन तथा अभिलेखीकरण गणेशप्रसाद दहाल, शङ्कर देवान र वासुदेव दाहालले गरे । कार्यक्रमको प्रत्येक दिन सहभागीहरू बिच छलफल कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा पाठ्यक्रम, २०७६ तर्जुमा गरी शै. स २०७७ देखि कक्षा १ र कक्षा ११ मा, २०७८ देखि कक्षा २, कक्षा ३ कक्षा, कक्षा ६ र १२ मा, २०७९ देखि कक्षा ४, कक्षा ७ र कक्षा ९ मा र २०८० देखि कक्षा ५, कक्षा ८ र कक्षा १० मा नयाँ पाठ्यक्रम लागु गर्ने भनी कार्यान्वयनमा ल्याएकाे छ । सुकुना बहुमुखी क्याम्पसकाे अायाेजनामा भएको कार्यक्रमको सञ्चालन नेपाली शिक्षण समितिका अध्यक्ष उमानाथ भट्टराईले गरेका थिए । क्याम्पस प्रमुख चन्द्रमणि राईले सहभागी , अतिथि, विज्ञहरूलाई धन्यवाद दिँदै तेस्रो दिनकाे कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित