सात महिनादेखि बन्‍द विद्यालय सोमबारदेखि खुल्ने

वीरगन्ज / कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय सोमबारदेखि खुल्ने भएका छन्। वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले ८, ९ र १० कक्षाको मात्रै पठनपाठन हुने गरी सामुदायिक विद्यालय सोमबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले  तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सन्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिए । कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने र यसको जिम्मेवार पक्ष स्थानीय सरकार हो भनेको छ । 

महानगरमा रहेका निजी विद्यालय भने सरकारको निर्देशन विपरित र महानगरको अनुमति बेगर आफूखुशी गत बिहीबारदेखि सन्चालनमा आइसकेका छन्।त्यसैले महानगरपालिकाले आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि सन्चालन गर्ने निर्णय गरेको हो । 

विद्यार्थीको हात साबुनपानीले धुनका लागि महानगरपालिकाले प्रत्येक विद्यालयमा २ थानका  दरले रेडिमेड वास बेसन जडान गरिदिने भएको छ । कक्षा ८ देखि १० सम्मको पठनपाठन हुने  सामुदयिक विद्यालय महानगर क्षेत्रमा ३१ छन् । 

सोमबारदेखि सन्चालनमा आउने विद्यालयको महानगरपालिकाले एक सातसम्म अनुगमन गर्ने र त्यसकै आधारमा  कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय गरिने  सरावगीले बताए । कक्षा १ देखि ५ सम्मको पठनपाठन भने तत्काल सञ्चालन नहुने मेयर सरावगीको भनाइ छ। अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया

सम्बन्धित