प्रवासीद्धारा आठ विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्रण

भोजपुर / वैदेशिक रोजगारीमा रहेका युवाहरुले भोजपुरका विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध उनीहरुले आठ ओटा विद्यालयलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । उनीहरुले टेम्केमैयुङ गाउँपालिकाको जनता प्राथमिक विद्यालय, महेन्द्र आधारभुत विद्यालय र साकेवा प्राथमिक विद्यालयलाई सामग्री हस्तारण गरेका छन् । त्यस्तै भोजपुर नगरपालिकाको जनकल्याण आधारभुत विद्यालय, धापखर्क प्राथमिक विद्यालय, बहिरा आधारभुत विद्यालय, सुस्तमनस्थिति विद्यालय, र आदर्श ज्ञानकुञ्ज एकाडेमीलाई सामग्री हस्तान्तरण गरेका हुन् । प्रवासमा रहेर आफ्नो तलबको केहि अंश कटाएर सामाजिक काम गरेको भन्दै विद्यालयहरुले खुसी प्रकट गरेका छन् ।

टेम्केमैयुङ गाउँपालिका– ५ मा रहेको जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक नूरी शेर्पाले भने,‘ विदेशमा रहेर पनि आफ्नो ठाउँको माया गर्दै आफ्नो गाँस कटाएर विद्यालयलाई गरेको सहयोग धेरै प्रशंसा योग्य छ, यसले संक्रमणको यो अवस्थामा विद्यालयमा पठनपाठन गराउन धेरै सहजता हुने छ ।’कोरोना भाइरसको संक्रमणबाट विद्यार्थीहरुलाई बचाउने उद्धेश्यले भोजपुर हातेमालो सेवा समाज युएई र योगदान राष्ट्रको लागि संस्थाले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । यो संक्रमणको अवस्थामा विद्यालयलाई पठनपाठनमा केहि सहजता थप्ने उनीहरुको भनाइ छ ।

योगदान राष्ट्रको लागि संस्था भोजपुर संयोजक तिर्थराज योञ्जनले भने,‘यो महामारीको अवस्थामा एकले अर्कालाई सहयोग गर्ने अवस्था छ, त्यसैले प्रवासमा रहेका हाम्रा दाजुु भाईहरुको सहयोगमा हामीले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हाैँ ।’ भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका छिरिङ शेर्पा, टिकाराम बस्नेत, पे्रम शेर्पा, हेम भण्डारी, शुम्भु राई, शरण तामाङ र भोजपुरबाट तिर्थराज योञ्जनले स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

विद्यालयहरुमा स्वास्थ्य समाग्री खरिद गर्नको लागि प्रयाप्त रकम अभावका कारण समस्या भईरहेको अवस्थामा प्रवासी युवाहरुले वितरण गरेको स्वास्थ्य सामग्रीले धेरै सहयोग पुग्ने जनकल्याण आधारभुत विद्यालयका शिक्षक महेन्द्र तामाङले बताए । आठ ओटा विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको संख्याको आधारमा स्वास्थ्य सामग्री दिएको हो । भोजपुर हातेमालो समाज युएईले विभिन्न समयमा जिल्लामा आपतविपतमा परेका तथा असक्त असाहयहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित