मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषद्वीच सम्झौता

विराटनगर / मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राति अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए ।
उनका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् ।

मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्नेछ । सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए । उनले अनुसन्धानको जग बसाउने काम सुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताए ।

राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताए । उनले सृजनशिल र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरी उद्यमी बन्नसक्ने बताए । उनले अनुसन्धान कार्यमा कन्जुस्याँई गर्न नहुने बताए । सम्झौता कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित