प्रसूतिका लागि आउनेसँग शुल्क उठाउँदै कोशी अस्पताल

विराटनगर। कोशी अस्पताल विराटनगरले प्रसूतिका लागि आउने सेवाग्राहीलाई दिँदै आएको सुविधा कटौती गरेको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसूति सेवा सञ्चालन गर्दै आएको कोशी अस्पतालले प्रसूतिका लागि आउनेहरूलाई दिइने निःशुल्क जाँचको सुविधा कटौती गरेको हो । १५ भदौंसम्म प्रसूतिका लागि आउने सेवाग्राहीको सम्पूर्ण जाँच र उपचार निःशुल्क थियो । डिस्चार्ज हुँदा तराई क्षेत्रमा घर भएकाले एक हजार यातायात खर्च पाउँथे । तर १५ भदौयता प्रसूति गराउनुअघि हुने जाँचको शुल्क लिन थालेको हो । यसरी जाँच गर्दा न्यूनतम एक हजार एकसय रुपैयाँभन्दा बढी शुल्क लाग्छ ।

प्रसूतिलाई दिइँदै आएको सुविधा कटौती गर्दा विपन्न नागरिकलाई समस्या हुने विराटनगर– २ का सुवास कामतले बताए । ‘पैसा हुने हामीले त तिर्न सक्छौं तर सामान्य नागरिकलाई टेष्ट शुल्क जुटाउन गाह्रो पर्छ,’ उनले भने, ‘सरकारी अस्पतालले यसरी शुल्क लिन हुँदैन ।’ निःशुल्क प्रसूति गराउन पाउने विपन्न नागरिकहरू शुल्क लाग्ने भएका कारण समस्यामा पर्ने उनले बताए । कोशी अस्पतालमा दैनिक ३० जना हाराहारीले प्रसूति सेवा लिइरहेका छन् ।

कोशी अस्पतालले ज्येष्ठ नागरिकलाई दिइने सुविधा पनि कटौती गरेको छ । अस्पतालले ६० वर्षदेखि ७० वर्षसम्म ५० प्रतिशत र ७० वर्षमाथिलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको थियो । तर असोज पहिलो साताबाट बहिरंग सेवाको पूर्जी मात्र निःशुल्क गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित