विराट मेडिकल कलेजमा १५५० रुपैयाँमै पीसीआर परीक्षण, अशक्तका लागि घरमै स्वाब सङ्कलन गर्ने व्यवस्था (तस्विरहरू सहित)

विराटनगर । बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले न्यून शुल्कमा पीसीआर जाँच सुरु गरेको छ । विराट मेडिकल कलेजले एक हजार पाँच सय ५० रुपैयाँमा पीसीआर जाँच सुरु गरेको अस्पतालका माइक्रोबायोलोजिस्ट डा. रणधीरसिंह राठौरले जानकारी दिए ।

राठौरका अनुसार विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कोभिड अस्पताल पनि भएकाले बिरामीको अवस्थाका आधारमा परीक्षण रिपोर्ट दिने गरिएको छ । ‘जसमा ४ घण्टा परीक्षणमा लाग्छ, ६ घण्टाभित्र बिरामीले रिपोर्ट प्राप्त गर्नेछन्, छिटै रिपोर्ट आउने भएकाले कोभिड सङ्क्रमित भएका बिरामीहरूको उपचार गर्न सहज भएको छ’उनले भने । एक साता अगाडिबाट सञ्चालनमा ल्याएको अस्पतालको प्रयोगशालामा एकै पटक ९६ जनाको पीसीआर परीक्षण गर्न सकिने डा. राठौरले जानकारी दिए । यस्तै, मेडिकल कलेजले अशक्तहरूको लागि घरमै गएर स्वाब सङ्कलन गर्ने र रिपोर्ट पनि घरमै पुर्‍याउने व्यवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित