वीपी प्रतिष्ठानका उपकुलपतिले जारी गरेका सरुवा, नियुक्ति पत्रमा अख्तियारको चासो

धरान । कोरोना पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आइसोलेसनबाटै जारी गरेका सरुवा तथा नियुक्तिका पत्रहरुमा अख्तियारले चासो दिएको छ । कोरोना संक्रमण पुष्टि भएर करिब दुई साता देखि उपकुलपति डा. गिरी आइसोलेसनमा छन् । आइसोलेसनमै रहँदा जारी गरिएका पत्रहरु कसरी कार्यालय सम्म आइपुगे र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले हस्ताक्षर गरिएका पत्र कसले कार्यालय सम्म ल्याएर जारी गर्यो भन्ने विषयमा अख्तियारले चासो देखाएको स्रोतले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएकाहरुले प्रयोग गरेका कुनै पनि वस्तु अन्य व्यक्तिले प्रयोग गर्न नहुने स्वास्थ्य प्रोटोकलमा उल्लेख गरिएको छ । कोरोना संक्रमितलाई अन्य व्यक्तिहरु सँग पनि भेटघाट गर्न नमिल्ने भनिएको छ । संक्रमण पुष्टि भए पछि होम तथा अस्पतालको आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

तर प्रतिष्ठानका उपकुलपतिको हस्ताक्षरमा आइसोलेसनबाटै जारी गरिएका पत्रहरुमा कसरी कार्यालय सम्म आइपुग्यो भन्दै अख्तियारले चासो दिएको स्रोतको भनाई छ । उनको हस्ताक्षरमा पनि शंका उत्पन्न भएको स्रोतको दाबी छ । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अनुसार कोरोना संक्रमण पुष्टि भए पछि स्वास्थ्य बिदा लिनुपर्छ, उपकुलपतिलाई कोरोना पुष्टि भए पछि उहाँ स्वतः बिदामा थिए, प्रतिष्ठानको कार्यवाहक रेक्टरलाई जान्छ, तर उपकुलपतिकै हस्ताक्षरमा सरुवा, नियुक्तिका पत्रहरु जारी भएका छन् ।’

अख्तियारले प्रतिष्ठानलाई नै पत्राचार गरेर स्पष्टीकरण मागेको छ । पत्रमा आइसोलेसनमा बसेको व्यक्तिले कसरी सरुवा, नियुक्ति पत्रमा हस्ताक्षर गरे, बिदा बसेको व्यक्तिबाट जारी गरिएको पत्र कसरी कार्यान्यवन भयो, स्पष्ट जवाफका लागि पत्र आएको स्रोतको भनाई छ । उपकुलपतिकै हस्ताक्षर हो कि होइन्, भन्ने पनि प्रश्न उठेको उनले बताए ।
उपकुलपति आइसोलेसनमा बसे पछि ४ जना कर्मचारीको सरुवा, एक जनाको अवकाश लगायत उपकुलपति कार्यालयमा ५ जना कर्मचारीहरु पनि नियुक्ति गरिएको स्रोतले जनाएको छ । कर्मचारी सरुवा, नियुक्ति लगायतमा उपकुलपतिका सल्लाहाकार टिमको हात रहेको उनले बताए ।

प्रतिष्ठानको प्रक्रियालाई बाइपास गर्दै उपकुलपति कर्मचारी सरुवा, बढुवाको खेलमा लागेको एक चिकित्सक बताउँछन् । उपकुलपति आइसोलेसनमा रहँदा अन्य पदाधिकारीहरुलाई पनि बाइपास गरेको उनको भनाई छ । उनले भने, ‘उपकुलपति आइसोलेसनमा भए पनि अन्य पदाधिकारीहरु पनि छन्, अरुमा कुनै विश्वास नै छैन्, कर्मचारीको मुख्य जिम्मेवारी रजिष्टार्ड हो, उहाँलाई भन्न सक्नुहुन्थ्यो, किन उपकुलपतिले आफै साईन गर्नु पर्यो ? कर्मचारी सरुवा गर्ने उहाँको विशेष अधिकार हो, तर प्रक्रिया त छ नि विशेष अवश्थामा विशेष अधिकार लाग्न सक्छन् तर अहिले कुन परिस्थिती आइपरेको छ, कर्मचारी सरुवा तथा नियुक्ति गर्ने ।’

प्रक्रिया मिचेर उपकुलपतिलाई काम गराउन अदृश्य सल्लाहाकारहरुको ठुलो हात रहेको उनले बताए । वीपीमा रहेको असंवैधानिक टिमले उपकुलपतिलाई अन्धो बनाएर कर्मचारीहरु बिच झगडा गराउने, दाउपेच खेल्ने, कर्मचारीहरुमा फाटो ल्याउन लागि परेको उनको दाबी छ ।

उपकुलपतिलाई विवादास्पद निर्णय गराउन लगाउनेहरु बाहिरी व्यापारीहरु रहेको उनले बताए । लामो समय देखि प्रतिष्ठानलाई लुट्न पल्केका शक्तिहरु फेरी जुर्मुराउन थालेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित