विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी, विद्यार्थी आन्दोलनमा

विराटनगर / समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगर भित्र कक्षा ११ को परीक्षा तालिका सार्बजनिक भएपछि विद्यार्थी आन्दोलित बनेका छन् । महामारी तिब्र गतिमा फैलिएको विराटनगरमा एक्कासी परीक्षा तालिका सार्बजनिक भएपछि विद्यार्थी आन्दोलित भएका हुन । विराटनगर महानगरपालिका भित्र कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । कोरोना महामारीका कारण खान लाउनै समस्या भएका अभिभावकबाट दशैको मुखमा जरवजस्ती पैसा असुल्नका परीक्षा सञ्चालन गर्न लागिएको विद्यार्थीको गुनासो छ ।

‘दशैंको मुखमा महानगरले परीक्षा सञ्चालन गर्ने सूचना निकालेको रहेछ ।’ विद्यार्थी संरक्षण देवकोटाले भने ‘ फिस तिर्नुहोस् भनेर दवाब दिदा तनाब हुन्छ, एकहजार बढीको भिडमा बस्दा घर– घरमा कोरोना पुग्ने जोखिम हुन्छ ।’ विद्यार्थीले महामारी पछि परीक्षा लिन आग्रह गरेका छन् । उनले महामारीमा परीक्षा सञ्चालन गर्ने भए अनलाइन पद्धतीबाट सञ्चालन गर्नुपर्ने बताए । ‘आर्थिक अवस्था कमजोर भएका परिवारका व्यक्तीले फिस तिर्न नसकेर भोली आत्महत्या गरेभने जिम्मेवारी कस्ले लिने ?’ देवकोटाले भने ‘ विद्यार्थी र परिवार माथि तनाव थप्ने काम भयो ।’

अहिलेकै अवस्थामा परीक्षा भए कोरोनाको जोखिम बढ्ने कान्तिपुर कलेजका विद्यार्थी शसंक पाठक बताउँछन् । ‘ दश दिन अघि परीक्षा दिने भनेर सूचना निकालियो ।’ उनले भने ‘ यस्तो बेला परीक्षा भयो भने कोरोना लाग्दैन् ? बुबा आमाको समस्या पनि बुझिदिनुपर्छ ।’ शिक्षा मन्त्रालयले माघ महिनासम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको संक्रमण कम नभएकोले विद्यालय सञ्चालन नगर्न आग्रह गर्दै आएका छन् । विराटनगरबाहेक अन्य स्थानीय तहले परीक्षा सञ्चालनका लागि सूचना निकालेका छैनन् । तर महानगर भित्र दशैको मुखमा अभिभावबाट शुल्क उठाउनका लागि परीक्षा सञ्चालन गर्न लागिएको विद्यार्थीको गुनासो छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । त्यही अनुसार महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको हो । कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले समन्वय मात्र गरेको महानगरको शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताए । विद्यालयलले स्वास्थ्य सतर्कतासहित परीक्षा सञ्चालन गर्ने बताएपछि महानगरपालिकाले सहजीकरण गरिदिएको बताए ।

हिसान मोरङका अध्यक्ष राजेश कार्की सबै सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको बताउछन् । शिक्षकलाई पारिश्रमिक दिनुपर्ने भएकाले अभिभावबाट शुल्क संकलन गरिने उनले बताए । ‘समस्या परेको अवस्थामा हामी पनि बुझ्छौं ।’ उनले भने ‘ अभिभावक र विद्यार्थीको सहजताकै लागि परीक्षा सञ्चालन गर्न लागिएको हो ।’ विराटनगरमा प्रदेश १ र प्रदेश २ का करिब ८ हजार विद्यार्थी कक्षा ११ मा पढ्छन् ।

प्रतिक्रिया

सम्बन्धित