निजी विद्यालयले अनावश्यक शुल्क असुल्ने गरेकाे अभिभावककाे गुनासाे

धरान / विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण निजी विद्यालयहरु ठप्प भए पनि अभिभावकहरुलाई विभिन्न बहानामा शुल्क असुल्न खोजेको भन्दै अभिभावकहरुले आइतबार धरान उपमहानगरपाालिकालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले चैत्र १२ देखि अहिलेसम्म विद्यालय सञ्चालन नभए पनि केही समय अनलाइन कक्षा सञ्चालन गरेर अभिभावकहरुलाई अनावश्यक रुपमा शुल्क असुल्ने गरेको बताउदै धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाले तत्काल यस विषयमा छलफल गरी निकास निकाल्नुपर्ने माग समेत गरेका छन् । अनलाइन कक्षा समेत व्यवस्थित नगरेको, बन्द भएको विद्यालय विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कसरी सञ्चालन गर्ने तथा विद्यालय सञ्चालक र अभिभावक दुवैलाई सहज हुने गरी शुल्क निर्धारण गर्न माग गरेका छन् ।

धरान उपमहानगरपालिकामा सञ्चालित निजी विद्यालयमा आफ्ना नानीहरुलाई अध्यापन गराउदै आएका अभिभावकहरुले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञापनपत्र बुझाउदै नीजि विद्यालय र नगरपालिकाको शिक्षा महाशाखा बीच छलफल गर्ने कुरा सञ्चारमाध्यमबाट आएको बताउदै यो छलफलमा अभिभावकलाई समावेश गर्न माग उनीहरुले गरेका छन् । उनीहरुले अहिले निजी विद्यालयलाई अनेकन बहानामा शुल्क तिर्न दबाब दिएकाले यसमा धरान उपमहानगरपालिकाले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझ्दै धरान उपमहानगरपालिका प्रमुख तिलक राईले विद्यालय सञ्चालन गर्ने र नगर्ने विषयमा अभिभावकहरुकै दोहोरो कुरा आएको बताए । उनले यस विषयमा विद्यालय सञ्चालक, शिक्षक, धरान उपमहानगरपालिका छलफलमा बसेर छिट्टै निष्कर्ष निकाल्ने बताउदै अभिभावक र विद्यालय सञ्चालकलाई मार नपर्ने गरी लकडाउन अवधिभरको शुल्क छलफलबाट निर्धारण गर्ने बताए । उनले चाडपर्व नजिकिदै गएको अवस्थामा हाललाई अनलाइनमार्फत नै कक्षा सञ्चालन गर्ने र दशै तिहारपछि कक्षा सञ्चालन गर्ने कुरा व्यापक उठेकोले यस विषयमा समेत छलफल हुने अभिभावकहरुलाई आश्वास्त गराए ।

विद्यार्थीको भविष्यसंगै स्वास्थ्य समेत जोडिएको गम्भीर विषय भएकोले यसलाई सम्बन्धित पक्षसंग छलफल गरेर चाडो टुंगोमा पु¥याउने समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित