आफु निकटकालाई नियुक्ति गदैं प्रतिष्ठानका उपकुलपतिका सहयोगी : सिटी स्क्यान मेसिन टेण्डरमा चलखेल

सुनसरी / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफु निकटकालाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले धमाधम नियुक्ति गर्न थालेका छन् । उनका सहयोगि दिलिप भट्टराई मार्फत डा. गिरी आइसोलेसनमा भएको बेला मालदार विभागमा आफु निकटकालाई ल्याउने र कमिसन तथा सेटिङमा असहयोग गर्नेलाई अन्यत्र सार्ने कामलाई तिब्र बनाएका छन् ।

पछिल्लो समय शुक्रबार प्रतिष्ठानको सिभिल इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर मदनकुमार साहलाई हटाएर ओभरसियर स्तरका विकास बस्याललाई प्रमुखको जिम्मेवारी दिएको छ ।

६ बर्ष अघि खुल्ला प्रतिस्पर्धाबाट प्रतिष्ठान छिरेका साहले प्रतिष्ठानमा बनेका नयाँ भवनको डिजाइन उनकै हो । उनलाई एक्कासी शुक्रबार क्वाटरमै विभागीय प्रमुखबाट हटाइएको पत्र थमाइएको थियो । इन्जिनीयरिङमा मास्टर गरेका साह भन्दा जुनियरलाई प्रमुख बनाए पछि आफु असन्तुष्ट बनेको बताए । ‘आफुलाई कुनै जानकारी विना हटाइएको छ । त्यो पनि जुनियरलाई प्रमुख बनाइएको छ ।’–उनले भने–‘प्रतिष्ठानमा विगतको जस्तै फोहोरी खेल शुरु भएको छ । अदालत जानुको विकल्प छैन् ।’

यस अघि खरिद शाखाका प्रमुख विष्णु चापागाईलाई हटाइएको थियो । सेटिङका सामान खरिद प्रक्रियामा ल्याउन दवाव दिएका कारण उनलाई हटाइएको बताइएको छ । यस्तै विना जानकारी कुनै पदाधिकारीहरुसँग नसोधि मेट्रोन उपेन्द्र यादवलाई हटाइएको थियो । खरिदमा अशोक साह र मेट्रोनमा गायत्री राई नियुक्ति गरिएको छ । उपकुलपति गिरीका सहयोगि भट्टराईले विगतदेखि प्रतिष्ठानलाई दुहुनो गाई बनाउदैं आएका व्यापारीको सेटिङमा कर्मचारी हेरफेरको राजनीति शुरु गरिएको प्रतिष्ठानका एक कर्मचारी बताउछन् । कर्मचारी सरुवाबारे प्रतिष्ठानका रजिष्टार, अस्पताल निर्देशक कसैलाई जानकारी छैन् । सरुवाबारे कुनै जानकारी नभएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । मिडियामा आए पछि आफुलाई थाहा भएको उनको भनाई छ ।

सिटी स्क्यान टेण्डरमा चलखेल

एक महिनाअघि सिटी स्क्यान खरिदका लागि प्रतिष्ठानले टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डरमा सिमेन, फिलिप्स, जीई र न्यु सफ्ट एउटा चाइनिज कम्पनिले प्रस्ताव पेस गरेका छन् । ती मध्यबाट मूल्याङ्कन समितिले निर्णय गरेर चार कम्पनि मध्य प्रक्रिया पुगेको कम्पनिलाई दिनु पर्ने प्रावधान रहेको छ । तर उपकुलपतिका सहयोगि दिलिप भट्टराईले दवाव दिएर जीई कम्पनिलाई टेण्डर पार्न लगाएको श्रोतले बताएको छ । त्यसका लागि खरिदका विभाग प्रमुख तथा मुल्याङकन समितिका सचिवसमेत रहेका विष्णु चापागाईलाई ३ महिनामै सरुवा गरिएको छ । मुल्याङकन समिति सदस्यसमेत रहेका कानुनी सल्लाहाकार आस्मिनीकुमार भट्टराईलाई नियुक्ति गरेको एक महिना मै बुधबार विदा दिएको छ । उनलाई साउन १६ गते नियुक्ति गरिएको थियो । उनको नियुक्ति पत्रमा २०७७ साउन १६ गतेदेखि लागु हुने गरि एक बर्षसम्म करार नामा गरे पनि विदा दिएको पत्रमा २०७७ भदौं ५ गते नै सकिएको भनी दिइएको छ ।

सबैलाई दवाव दिएर सेटिङमा जीई कम्पनिलाई टेण्डर दिन लागेको मुल्याङ्कन समितिका एक सदस्यले बताए । उक्त कम्पनिलाई छनौट नगरे मूल्याङ्कन समिति सबैलाई हटाउने धम्कीसमेत उपकुलपतिको सहयोगि भट्टराईले दिएको बताइएको छ । प्रतिष्ठानमा पुरानो सिटी स्कयान भएका कारण नयाँ किन्न संघीय सरकारले २० करोड बजेट दिएको छ भने बाँकी रकम प्रतिष्ठानले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्न लागेको हो ।

प्रतिष्ठानले हाल किन्न लागेको सिटी स्क्यान फुल अप्सनको २५६ स्लाइडको हो । यसको मूल्य २५ करोड अनुमान गरिएको छ । यस अघि प्रतिष्ठानमा १६ स्लाइडको रहेको थियो त्यो पनि विग्रिएर थन्किएको छ । फुल अप्सनको उक्त मेसिन ल्याए १५ बर्षसम्म ढुक्क हुने बताइएको छ । तर कम्पनिले सेटिङमा न्यून स्तरको मेसिन दिन लागेको श्रोतले बताएको छ ।

यस विषयमा प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीसँग बुझन खोज्दा फोन उठाएनन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले यस विषयमा आफुलाई कुनै सूचना नआएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित