कोरोना मुक्त भएकाहरु लामो समयसम्म बिरामी हुन्छन् !

काठमाडौं / कोरोना संक्रमणमुक्त भएकाहरु व्यक्तिहरुलाई लामो समयसम्म बिरामी बनाउनसक्ने पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन सार्वजनिक गर्दै परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड–१९ का सामान्य लक्षण भएका बिरामीहरुका साथै युवा तथा वयस्कहरुमा पनि लामो समयसम्म बिरामी बनाउन सक्ने पाइएको बताए ।

निको भएकामध्ये ८९.१ प्रतिशतको अवस्था सामान्य अवस्थामा छन् भने १०.९ प्रतिशतमा रुघाखोकी लाग्ने, हाच्छ्युँ आउने, चिसो महसुस हुने, सामान्य काम गर्दा पनि कमजोर महसुस हुने र गन्ध तथा स्वाद गुमाएको महसुस हुने गरेको छ । अध्ययनमा सहभागीमध्ये ८४.३ प्रतिशतले सामाजिक भेदभाव भाग्नु परेको बताएका छन् । यस्तै १५.१ प्रतिशतमा कोरोनाबारे अनावश्यक विचार आएको र ७.७ प्रतिशतमा आफू र अरु प्रति नकारात्मक विचारसमेत आएको पाइएको छ ।

उनका अनुसार ३५ प्रतिशतभन्दा बढीमा संक्रमणमुक्त भएको २/३ सातासम्म पनि रुघाखोकी, थकान र श्वासप्रश्वासमा कठिनाई जस्ता समस्या देखिएको छ । यद्यपि ८० प्रतिशतभन्दा बढीले घरासयी तथा आर्थिक आयआर्जनका काम गर्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार परिषदले संक्रमणमुक्त भएका १८ वर्षभन्दा माथिका ५५२ जनामा संख्यात्मक र २५ जनामा गुणात्मक अध्ययन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित