इटहरी स्थित सामुदायिक अस्पतालको नयाँ भवनबाट सेवा सञ्चालन

इटहरी । इटहरीको पहिलो इमर्जेन्सी सेवा सहितको अस्पतालका रुपमा पहिचान स्थापित गरेको सामुदायिक अस्पतालले आफ्नै नयाँ भवनबाट समेत सेवा आरम्भ गरेको छ । इटहरी २ हलगडामा अस्पतालले नयाँ अस्पताल भवन निर्माण गरी सेवा आरम्भ गरेको हो । अस्पतालका सञ्चालक हेम गुरुङका अनुसार अस्पतालले नयाँ भवनबाट समेत स्वास्थ्य सेवा दिन सुरु गरेको छ । इटहरी प्रहरी चौकी अगाडीको पुरानो ठाउँमा भने क्लिनिकको रुपमा सेवा दिइने उनले बताए ।

दैनिक एक सय बढी बिरामीहरुलाई सेवा दिइरहेको सामुदायिक अस्पताल इटहरीकै सर्वसुलभ र भरपर्दो सेवा दिने अस्पतालको रुपमा स्थापित भएको गुरुङको भनाई छ । सुनसरीका साथै विभिन्न जिल्लाहरुबाटसमेत आकस्मिक उपचारको साथै विशेषज्ञ सेवाको लागि बिरामीहरु अस्पतालमा आउने गरेका छन् । यहाँ २४ सै घण्टा मेडिकल अफिसरहरुबाट इमर्जेन्सी सेवा सञ्चालनमा रहेको उनले बताए । ‘नयाँ भवनबाट सेवा सुरु गरेपछि अझ धेरै बिरामीहरुले अझ स्तरीय सेवा पाउनेछन्,’ उनले भने ।

अस्पतालमा स्वास्थ्य जाँच, भिडियो र डिजिटल एक्सरे, दन्त सेवा, प्लाष्टर सेवा, निःशुल्क सुरक्षित मातृत्व सेवा, निःशुल्क क्षयरोग सेवा, विभिन्न डाक्टरहरुको विशेषज्ञ सेवासमेत दिइरहेको छ । उनका अनुसार डा. सुनिल शाहले दैनिक फिजिसियन सेवा सञ्चालन गरिरहेका छन् । यस्तै स्त्री रोग विशेषज्ञ डा. सोमा गौतम, नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. राजेन्द्र राई, हाडजोर्नी तथा बाथ रोग विशेषज्ञ डा. कुमार गुरुङ र शम्भु शाहले स्वास्थ्य जाँच गर्ने गरेका छन् । आफ्नै भवनमा अझ थप सेवाहरु विस्तार गर्दै लगिने अस्पतालले जनाएको छ ।

मुनाफामुखी नभई सेवामुखी ढंगले सेवा दिइरहेकोले आफूहरु बिरामीहरुको स्वास्थ्य सेवामा समर्पित रहेको गुरुङ बताउँछन् । कोरोनाको महामारीका बिचमा पनि विशेष सावधानी अपनाएर स्वास्थ्य सेवा दिइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित