नोबेल अस्पतालको सबै उपचार सेवा सुचारु

बिराटनगर / पाँच महिनाभन्दा बढीको लकडाउनपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सबै उपचार सेवा सुचारु भएको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो । तर, लकडाउन तथा निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए ।

कोरोना संक्रमणका कारण केही समयअघि अस्पतालको सेवा पनि प्रभावित भएको थियो,’ डा.घिमिरेले भने, ‘अहिले लकडाउन, निषेधाज्ञा पनि खुलेको र अस्पतालको पनि सबै सेवा सुचारु भएपछि बिरामीको संख्या निकै बढेको छ ।’ कोरोना संक्रमणका कारण नोबेलमा केही दिन सेवा प्रभावित भएको थियो । तर, अहिले अस्पतालका सम्पूर्ण उपचार सेवा सूचारु भएको छ । ओपीडी र इमर्जेन्सीबाट सबै उपचार सेवा सुचारु भएपछि बिभिन्न जिल्लाबाट बिरामी आउने क्रम बढ्न थालेको हो ।

नोेबेल अस्पतालले कोरोनाको जोखिम न्यूनीकरण गर्न उच्च सावधानी अपनाएर उपचार गर्ने वातावरण मिलाएको छ । अस्पतालभित्र बिरामीको भीड व्यवस्थापन गर्न सुरक्षागार्डको तैनाथी बढाउनुका साथै अनिवार्य रूपमा मास्क र सेनिटाइजर प्रयोगमा कडाइ गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित