कोरोना महामारीमा बिरामीलाई गलत औषधि बेच्छन् फार्मेसी

विराटनगर / कोरोनाको बहानामा बिरामीलाई अस्पतालले भर्नानै लिन मान्दैनन् । अस्पतालले अस्वीकार गर्दा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या भएका सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छ । मुस्किलले अस्पताल भर्ना भएर उपचार पाउन थालेका बिरामी पनि फार्मेसी (औषधि पसल)ले चरम शोषण गरिरहेको पाइएको छ । फार्मेसीबाट चिकित्सकले सिफारिस नै नगरेका गलत औषधि दिएर बिरामीको ज्यानै जोखिममा पार्ने काम भइरहेको भेटिएको हो । बिरामीलाई चिकित्सकले सिफारिसनै नगरेका औषधि जबरजस्ती भिडाएर फार्मेसीले चरम बद्मासी गरिरहेका हुन् ।

औषधि व्यवस्था विभाग विराटनगरले अनाधिकृत हिसाबले दिइने गलत औषधिले बिरामीको ज्यान जोखिममा परेको जनाएको छ । विभागले मंगलबार अनुगमन गर्दै चिकित्सकको सिफारिस बिना औषधि बेच्ने एउटा फार्मेसी सिल गरिदिएको छ । औषधिको बिक्रीवितरणमा रोक लगाउँदै विराट नर्सिङ होम अगाडि रहेको महेश मेडिकल हलमा ताला लगाइएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए ।

उपचारमा संलग्न डाक्टरबाट सिफारिसनै नभएका औषधि फार्मेसीले बिरामीलाई आफूखुसी बेच्ने गरेको पाइएको उनको भनाइ छ । उक्त फार्मेसीका सञ्चालक कृष्णकुमार यादव हुन् । उनले कुटपिटबाट घाइते भएकी मोरङको जहदा गाउँपालिका –२ की ७० वर्षीया वृद्धा दुर्गादेवी पासवानलाई गलत औषधि दिएको पाइएको छ ।

पासवानलाई गत मंगलबार उपचारका लागि नर्सिङ होम ल्याइएको थियो । चिकित्सकले सिफारिस गरिदिएपछि बिरामीलाई आवश्यक औषधि यादवले चलाएको महेश मेडिकल हलबाट लैजाने गरेका थिए । ‘चिकित्सकले प्रेसक्रिप्सनमा बिरामीका लागि चारवटा औषधि सिफारिस गरेको पाइयो,’ विभागका प्रमुख कट्टेलले भने, ‘फार्मेसी सञ्चालकले भने अरु दुईवटा थप गरेर छ वटा औषधि बिरामीलाई बेचेछन् ।’

उनका अनुसार चिकित्सकबाट सिफारिस नै नभएको कडा खालको एन्टिबायोटिक ‘इन्जेक्सन मेनम’ र ग्याष्ट्रिकका बिरामीले प्रयोग गर्ने ‘इन्जेक्सन पेन्टोसिड’ फार्मेसी सञ्चालक आफूलेनै प्रेसक्रिप्सनमा थपेर दिएका हुन् । उनले चिकित्सकले लेखेको चारवटा र पछि थप गरेका दुईवटा औषधिको अक्षर नमिलेको पनि बताए । बिरामीले खरिद गरेका दुवै औषधि नौ हजारभन्दा बढी मूल्यको रहेको बताइएको छ ।

प्रमुख कट्टेलले पसलको सबै कागजात नियन्त्रणमा लिएर छानबिन थालिसकिएको जानकारी दिए । पसलमा बिक्री अनुमतिनै नभएका केही औषधि पनि भेटिएकाले जफत गरिएको उनको भनाइ छ ।

अनुमति प्राप्त अधिकारीबाट औषधि बिक्री नगर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक यादवलाई दुई महिनाअघि पनि विभागले उपस्थित हुन पत्र काटेको थियो । तर पसल दर्ताको सक्कली प्रमाणपत्र जफत गरेर विभागले लगेको भए पनि अहिलेसम्म उनी हाजिर भएनन् ।

अघिल्लो र अहिलेको दुवै घटनालाई समेटेर दोहोरो कारबाही अघि बढाइने कट्टेलले बताए । ‘अनुमतिनै प्राप्त नगरेका व्यक्तिबाट औषधि बिक्री गर्ने गरेको पाइएपछि सबै विवरण लिएर एक साताभित्रमा उपस्थित हुन दुई महिनाअघि निर्देशन दिइएको थियो,’ उनले भने, ‘तर हाजिर नभइकन अटेर गरेर बसिरहेको पाइयो ।’ उनले सुरुमा फार्मेसीलाई निलम्बन गरेर अरु कारबाही अघि बढाइने जानकारी पनि दिए ।

फार्मेसीले अनाधिकृत व्यक्तिबाट चिकित्सकले उल्लेखनै नगरेको औषधि बिरामीलाई दिनु गम्भीर लापरबाही र गल्ती भएको कट्टेलको भनाइ छ । ‘पैसा कमाउन अनाधिकृत व्यक्तिबाट बिरामीलाई गलत औषधि दिने गरेको पाइएपछि अनुसन्धान गम्भीर रुपमा थालिएको छ,’ उनले भने, ‘कोरोना महामारीमा मुस्लिकले अस्पतालमा उपचार पाउने बिरामीलाई सही औषधि नदिएर ज्याननै जोखिममा पार्नु फार्मेसीको ठूलो बद्मासी हो ।’

चिकित्सकले जतिसुकै राम्रो उपचार गरे पनि औषधि गलत पर्दा बिरामीको मृत्यु हुने उनको भनाइ छ । उनले बिरामीलाई गलत औषधि दिएर औषधि ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप गरेकोले त्यहीअनुसार कारबाही अघि बढाइने बताए । ऐनले औषधिको उत्पादन, बिक्रीवितरण तथा निकासी पैठारीका विषयमा व्याख्या गरेको छ । ऐनको बर्खिलाप गर्नेलाई तीन वर्ष कैद अथवा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको जानकारी कट्टेलले दिए ।

प्रतिक्रिया

सम्बन्धित