विद्यालय सञ्चालनको तयारीमा प्रदेश १ सरकार

विराटनगर  / प्रदेश १ सरकारले कोरोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी सुरु गरेको छ ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका कारण ५ महिनादेखि विद्यालय बन्द हुँदा सबै शैक्षित गतिविधी ठप्प छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरेर विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर्देशन दिएका थिए । निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरेर सुझाव लिएको छ ।

मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए । उनले मन्त्रालयले प्राप्त गरेको सुझाव अनुसार चाँडै बैठक बसेर निस्कर्षमा पुगिने जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरी संकलन गरिएको सुझाव शिक्षा मन्त्रालयमा पेस गरेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाई सञ्चालनको सुझाव दिएको छ ।
सिकाई सञ्चालन अघि भदौ भित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिएको छ । कक्षा सञ्चालन पुर्व विद्यालयमा निर्मलिकरण गर्नुपर्ने र निषेधाज्ञा रहेकाले विद्यालयसम्म शिक्षकलाई पुग्न सहज वातावरण बनाईनुपर्नेमा सामाजिक विकास मन्त्रालयले जोड दिएको छ ।

सामाजिक विकास मन्त्रालयले विहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव पेस छ । उसले विद्यार्थीको रोल नम्बरका आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको छ । स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी ‘कोभिड टाक्स टिम’ तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिइएको छ ।

सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याँकन गरेर १२ कक्षा अबिलम्व सञ्चालन गर्न सुझाव दिएको छ । मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन सुरु गर्नुपर्नेमा जोड दिएको छ ।
प्रदेश १ का एक सय ३५ विद्यालय र छ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाइन रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुईवटा विद्यालयमा होल्डिङ सेन्टर, तीन वटा विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालनमा छन् । प्रदेश १ का सात हजार एक सय ३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित