साइकल चोरेरै भक्तपुरमा तीन तले घर !

काठमाडौं / काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट महँगा साइकल चोरी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले लामो प्रयासपछि पक्राउ गरेको छ। सर्लाहीको हरिओन नगरपालिका–५ घर भएका ४४ वर्षीय रमेश माझी भनिने सुरेशलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो। चोरीकै साइकलमा घुमिरहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए। ‘लामो अनुसन्धानपछि साइकल चोरीमा संलग्न सुरेशलाई पक्राउ गरेका छौं,’ कार्कीले भने, ‘महँगो मूल्यका साइकल चोरेर वर्कशपमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।’

सुरेशको चोरी गर्ने तरिका पनि अनौठो छ। भक्तपुरको च्याम्हासिंहमा बस्ने सुरेश बिहान घरबाट पैदलै निस्कन्छन्। साथमा दुईवटा पेचकस बोकेर निस्किने उनले त्यही पेचकसको सहायताले पार्किङ गरेर राखिएका साइकलको लक खुस्काएर त्यही साइकल चढेर हिँड्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।‘उनको निसाना नयाँ र महँगा साइकलमा पर्ने गरेको रहेछ,’ कार्कीले भने, ‘साइकल चोरीमा त उनी मास्टरमाइन्ड नै रहेछन्।’ प्रहरीले उनको साथबाट चोरीको आठ वटा साइकल पनि बरामद गरेको छ। ती साइकलको मूल्य ७० हजारदेखि दुई लाख मूल्यसम्मका छन्।

कार्कीका अनुसार लकडाउन सुरु भएपछि शंखमूलबाट सुरेशले दुई लाख पर्ने साइकल सजिलै चोरी गरे। सिसीटिभी फुटेजमा देखिएअनुसार पार्किङ गरेर राखेको सो साइकलको लक खुस्काउन पेचकसको सहायताले एकछिनमै भ्याए र त्यही साइकल चढेर हिँडे।

चोरेका साइकल उनले भक्तपुर नगरपालिका–९ मा लक्ष्मीसुन्दर वासुले सञ्चालन गरेको ‘सुन्दर मोटरसाइकल वर्कशप’ मा लगेर बेच्ने गरेको खुलेको छ। उनले महँगा साइकल पनि सस्तैमा बिक्री गर्ने गरेको खुलेको छ। प्रहरीले उक्त वर्कशपमा चोरीको साइकलका २४ वटा लक फेला पारेको छ।

प्रहरीले सिसीटिभी फुटेजका आधारमा सुरेशले लगाएको कपडा पहिचान गरी उनलाई पक्राउ गरेको हो। तीनकुनेस्थित भ्याली रिकेश सप्लायर्स पेट्रोल पम्प नजिकैबाट साइकल चोरेको सिसीटिभी फुटेजमा देखिएको ‘निलो ज्याकेट’को हुलियाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो। त्यहीबेला लगाएको लुगा र थापागाउँमा भेट्दा लगाएको लुगा एउटै भएकाले प्रहरीलाई ठम्याउन सजिलो भएको कार्कीले बताए।

सुरेशले चोरेको साइकल किन्ने ‘सुन्दर मोटरसाइकल वर्कशप’ सञ्चालक लक्ष्मीसुन्दर वासुलाई पनि प्रहरीले चोरी मुद्दा चलाएको छ। दुवै जना महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा छन्।

चोरेरै तीन तले घर : सुरेशले चोरी गरेर नै भक्तपुरको च्याम्हासिंहमा तीन तले घर निर्माण गरेको प्रहरीले दाबी गरेको छ। लामो समयदेखि काठमाडौँ उपत्यकामा साइकल चोर्ने सुरेशले चोरेरै घर बनाएको निष्कर्षमा प्रहरी पुगेको एसपी कार्कीले बताए। ‘उनको आम्दानीको अन्य कुनै पनि स्रोत देखिँदैन,’ कार्कीले भने, ‘महँगा साइकल चोरी गरेर नै उनले घर ठड्याएका रहेछन्।’ नेपालसमयबाट

प्रतिक्रिया

सम्बन्धित