सर्पदंश उपचार केन्द्र नहुँदा समस्या

डोटी / सुदूरपश्चिम प्रदेशभरिमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा वर्षेनी यहाँका दजनौँ स्थानीयवासीले अकालमै ज्यान गुमाउनु परेको छ । यहाँका अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ नभएका कारण उपचार हुँन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो । सरकारले सरकारीस्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका कारण यहाँ दिनानुदिन समस्या उत्पन्न हुन थालेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गत वर्षमात्रै सुदूरपश्चिममा सर्पदंशका कारण ४३ जनाको मृत्यु भएको छ ।

सर्पले डसेका बिरामीको समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी पाँच जनाको विषालु सर्पले डसेका कारण ज्यान गइसकेको छ । जिल्ला अस्पतालले निःशुल्करुपमा वितरण गर्ने ‘एण्टीस्नेक भेनम’ राखिएका यहाँका कतिपय अस्पतालमा पनि उपचार सेवा भरपर्दो नभएको दिपायल सिलगढी नगरपालिका–६ रातुलीका स्थानीय चक्रबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्पेसलरूपमा सर्पदंशको उपचार केन्द्र छैन, केही अस्पतालमा औषधि भए पनि सो विषयमा दक्ष चिकित्सक नहुँदा बिरामीले ज्यान गुमाउन थालेका छन् ।” गर्मीयामको समयमा सुदूरपश्चिमभरिमा दर्जनौँ सर्पदंशका बिरामी आउने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जसमा आधा जति सर्पदंशका बिरामीको ज्यान जाने गरेको सो निर्देशनालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको उपचार केन्द्र नभएका कारण यहाँका सर्पदंशका बिरामीहरु उपचारका लागि छिमेकी जिल्ला बाँके तथा भारतका विभिन्न शहरमा धाउन बाध्य भएको दिपायल पिपल्लाका स्थानीयवासी टेकबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेशभरि सर्पदंशका सरकारी उपचार केन्द्र छैन, उपचार गराउन प्रदेश बाहिर र भारत जानुपर्छ जसका कारण बिरामीको बाटोमै ज्यान जाने गरेको छ ।” प्रदेश सरकारले सुदूरपश्चिमका सर्पदंश उपचार केन्द्र राख्ने चासो नदिएका कारण यहाँका स्थानीयवासीको अकालमै ज्यान जान थालेको आरोप लाग्दै आएको छ ।

सरकारीस्तरबाट सर्पदंशको उपचार केन्द्र नभए पनि नेपाली सेनाको सुदूरपश्चिम पृतना मातहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ बाहिनी अड्डाअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ । कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापनाकालदेखि हालसम्म ५४५ जनाको उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७२ मा स्थापना भएको उक्त उपचार केन्द्रमा विसं २०७३ मा तीन महिला र ७० पुरुष गरी १७३, विसं २०७४ मा ९९ महिला र ६१ पुरुष गरी जम्मा १६०, २०७५ मा ९६ महिला र ७४ पुरुष गरी जम्मा १७० जनाको उपचार भएको छ ।

त्यस्तै विसं २०७६ असार १९ गतेसम्म २७ महिला, १५ पुरुष गरी जम्मा ४२ को उपचार गरिएको छ । त्यस्तै अर्जुनीमा देवीदल गणले खोलेको सर्पदंश उपचार केन्द्रमा यो असार महिनामा मात्रै ६३ को उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी राजु बस्नेतले बताउनुभयो । “सर्पदंशका बिरामी दिनहुँ बढिरहेका छन्, हामीसँग दक्ष प्राविधिक र उपकरण पनि छ तर प्रचारप्रसार नभएर बिरामी भारत जाँदैछन्”, उहाँले भन्नुभयो, “सर्पले डसेपछि नआत्तिनोस्, सिधै हाम्रो उपचार केन्द्रमा आउनुस् हामी निको पार्छौँ ।” उक्त सर्पदंश उपचार केन्द्र विसं २०७३ देखि नेपाली सेनाले सञ्चालन गर्दै आएको छ । यहाँका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनो खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसकिँदा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेतजस्ता अति विषालु सर्पको बिगबिगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वेलगायत विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा उपचार केन्द्र नलगेमा बिरामी मृत्युको मुखमा पुग्ने गरेको शैलैश्वरी अस्पताल दिपायलका डा ललित लिम्बू बताउनुभयो ।

गर्मीयाममा प्रायः सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको स्थानीयवासी बताउँछन् । विषालु सर्पले डसेका बिरामीले ढिलो उपचार पाएमा पनि सर्पले डसेको अङ्ग काम नलाग्ने गरी जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् । उता सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव झङ्करबहादुर विष्टले सुदूरपश्चिममा सर्पदंशको सरकारी उपचार केन्द्र नभएर स्थानीयवासीको अकालमै ज्यान जान थालेको कुरालाई ध्यानमा राखेर मन्त्रालयले सर्पदंश उचार केन्द्र खोल्ने निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कैलालीको सेती अञ्चाल अस्पतालमा सर्पदंश उपचार केन्द्र खोल्ने भन्ने निर्णय भएको छ, हामी चाँडै नै अन्य जिल्लामा उपचार केन्द्र खोल्ने तयारीमा छौँ ।”

प्रतिक्रिया

सम्बन्धित