आजबाट अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी बिदा

काठमान्डाैं / निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गरेका छन् । सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै आज साउन १ बाट अनलाइन कक्षा अनिश्चितकालका लागि बन्द गरेका हुन ।

अनलाइन कक्षा बन्द भएपछि शिक्षक तथा कर्मचारीलाई पनि बेतलबी विदा दिइएको छ । विद्यालय बन्द रहेको अवस्थाको शुल्क उठाउन पाउनुपर्ने, राज्यले राहत प्याकेज दिनुपर्ने माग राख्दै आएका निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले माग सम्बाेधन नभएपछि अनलाइन कक्षा बन्द गरेका हुन ।

कोरोना महामारीका कारण ११ चैतदेखि शैक्षिक संस्था बन्द छन् । सरकारले असारबाट अनलाइन कक्षा सञ्चालन गरी असारबाट शुल्क उठाउने अनुमति दिएको थियो । तर निजी विद्यालयले बैशाखबाट कक्षा सञ्चालन गरेको बताउँदै बैशाखबाटै शुल्क उठाउन पाउनुपर्ने माग राख्दै आएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन.प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित