‘कहिले तङ्ग्रिएला त श्रीअन्तु’

इलाम / देशको प्रमुख पर्यटकीय स्थल श्रीअन्तु । यहाँ सूर्योदय र सूर्यास्त हेर्ने बाह्रैमास घुइँचो लाग्छ । सूर्योदय हेर्ने, अन्तुकै चियाबारीस्थित पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु ।

आन्तरिक र बाह्य पर्यटकको गर्मी छल्ने अपयुक्त क्षेत्र पनि हो श्रीअन्तु तर, यतिबेला अन्तुको पहिचान ठिक विपरीत भएको छ । न यहाँ पर्यटक छन्, न होमस्टे सञ्चालक । कोरोनाका कारण बन्दाबन्दी भएपछि अन्तु पूरै बन्द छ । अहिले यहाँ होमस्टे रुग्ने रुगालोदेखि पोखरी हेरविचार गर्ने व्यक्तिबाहेक अरू कोही भेट्टिँदैनन् । सध्रैँ ‘व्यस्त’ रहने अन्तुम शून्यता छाएपछि यसको मार भने पर्यटन व्यवसायीलाई बढी परेको छ । “सध्रैँ पर्यटक थाम्न हम्मेहम्मे पथ्र्यो । बिहान बेलुकै घुम्न आउनेको घुइँचोले गर्दा काम गर्न भ्याइनभ्याइ पथ्र्यो ।” श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले भन्छन्, “बन्दाबन्दी भएपछि त पर्यटन भनेर कोही पनि आउँदैन । पूरै सुकेको छ ।” उहाँले महामारीका कारण पर्यटकीय क्षेत्र मारमा परेकाले अब पुरानैस्तरमा पु¥याउन गाह्रो हुने बताए ।

सधैँ पर्यटकको चापाचाप पर्ने अन्तुमा यस वर्ष भने व्यवसायीको पेसा नै धरमरमा परेको छ । कतिलाई अब साहुको ऋण कसरी तिर्ने भन्ने समस्याले नराम्ररी पिरोलेको छ । स्थानीय सरकारले कर छुट दिनेदेखि बैंकको ऋणमा सहुलियत नदिएमा पर्यटन व्यवसायीमा आर्थिक सङ्कट आउने बताउछन् अन्तु व्यवसायी सङ्घका सचिव रुद्र घिमिरे ।

“यहाँ लगानी गर्दा राम्रो हुन्छ भन्ने थाहा पाएर झापादेखिका साथीहरू कटेज खोलेर बसेका छन् ।” उनी भन्छन्, “न साहुको ऋण तिरेका छन् । न त कटेजको भाडा । होमस्टेको पनि हविगत उही हो ।” अन्तु मात्र होइन जिल्लाका अन्य पर्यटकीय क्षेत्रको पनि हविगत योभन्दा फरक छैन । हुन त पर्यटकका लागि मुख्य सिजन हो चैत यताको जेठसम्मको समय । त्यही सिजनमा नै बढी आम्दानी हुने गर्दछ । तर, यसपल्ट भने पर्यटन व्यवसायीले यही मौसममा धक्का लागेको छ ।

दैनिक तीनदेखि ४०० सम्म पर्यटक आउने इलाम सन्दकपुर गाउँपालिकास्थित माइपोखरीको पनि स्थिति अन्तुको भन्दा फरक छैन । पर्यटकलाई स्वागत गर्न दैनिकजसो बस्ने गरेका व्यवसायी यति बेला चकमन्न भएपछि व्यवसाय नै बन्द गरेर बस्नुपरेको छ । मुख्य सिजनमा पर्यटक नआउँदा आर्थिक कारोवार ठप्प भएको यहाँका पर्यटन व्यवसायी निमादोर्जे शेर्पा बताउछन् । “हामीले खोलेर मात्रै पनि भएन । पर्यटक आउनु प¥यो । महामारी आउँछ भन्ने डरले व्यवसाय नै बन्द गरेका छौँ ।” उनले भने ।

रामसार क्षेत्रमा सूचीकृत माइपोखरी पर्यटकीयसँगै धार्मिक महत्वका हिसाबले पनि धेरै पर्यटक भेला हुने गर्छन् । आन्तरिक र बाह्य पर्यटकको चापाचाप हुने यो क्षेत्रमा यस पटक भने व्यवसायी नमज्जाले घाटा व्यहोर्नु परेको छ ।

यस्तै, हिमाल हेर्न र गर्मी छल्न दैनिक ६० देखि ७० जनाको हाराहारीमा पुग्ने सन्दकपुर र ढापपोखरी लगायतका पर्यटक नहुँदा सुनसान भएका छन् । प्रदेश १ सरकारले नै प्रमुख गन्तव्यका रूपमा छनोट गरेको सन्दकपुरमा पनि पर्यटक आउन सक्ने स्थिति छैन । पर्यटककै पर्खाइमा बाह्रैमास खुल्ने होटल, होमस्टे र यातायात व्यवसायीलाई ठूलै आर्थिक समस्या आइलागेको यातायात व्यवसायी गृष्म सुब्बा बताउछन् । “यी पर्यटकीय क्षेत्रमा त कोही जाँदैन । पुराना पर्यटक पनि खुलेपछि आउँछाँै भन्नुहुन्छ ।” उनी भन्छन्, “खासै धेरै फोनपनि आउँदैन । नभए यो सिजनमा जानका लागि दिनानुदिन फानै मात्र आउथ्यो ।”

उनका अनुसार यसै क्षेत्रमा कार्यरत यातायात व्यवसायीलाई भने सरकारले सहुलियत वा छुट नदिए जीवनस्तर जटिल अवस्थामा पुगेको छ । उनले भने, “हामीले सवारीको रुट÷परमिटको पनि रकम छुट पाउनुपर्छ र बैंकले पनि सहुलियत दिनुपर्छ ।”

मुख्य सिजनमा बन्दाबन्दी भएपछि ठूलो घाटा होटल व्यवसायीलाई परेको छ । होटल व्यसायीका अनुसार जिल्लामा बन्दाबन्दीका समयमा ६० ठूला होटलमा प्रतिदिन रु ४० हजारका दरले, मझौला रु २०० होटलमा प्रतिदिन रु २० हजार र साना १९० होटलमा रु छ हजार घाटा भएको बताएका छन् ।

यस्तै, ठूला होटलबाट छ सय जना, मझौलाबाट एक हजार दुई सय जना र साना होटलबाट पाँच सय ७० जना कामदार बेरोजगार रहेको तथ्याङ्क छ । गएको बर्ष जिल्लामा एक लाख ६३ हजार पर्यटक भित्रिएकामा यस बर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको थियो ।तर,सिजनमै बन्द भएपछि आधा समेत पर्यटक नभित्रिने पर्यटक व्यवसायीको गुनासो छ । पर्यटन व्यवसायी देवी पौड्यालका अनुसार अब पर्यटन प्रवद्र्धनका काम ‘शून्य लेभल’देखि थाल्नु पर्ने भएको छ ।

के गर्दैछन् स्थानीय तह ?

आर्थिकरूपमा समस्यामा परेपछि अधिकांश पर्यटन व्यवसायीले यति बेला बैंक र स्थानीय सरकारको मुख ताक्न थालेका छन् । बैङ्कले सहुलियत दरमा ब्याज र स्थानीय सरकारले करमा छुट दिएमा आफ्नो जीवनस्तर उकासिने व्यवसायीको भनाइ छ ।

हुन त चार महीनासम्म शून्य कारोवार हुँदा मुख्य पेशा नै पर्यटन बनाएर बसेका व्यवसायीलाई ठूलै सङ्कट आइलागेको छ । व्यवसायीलाई समस्यामा पारेर पर्यटकीय क्षेत्रमाथि नउठ्ने भएकाले नगरपालिकाले करमा छुट दिन सक्ने बताउछन् सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई । “ठूलै सङ्क्रमण आए हामी व्यवसायीसँग समन्वय गर्न सक्छौँ ।” उनले भने, “तर, अहिले सम्म एउटा होटलबाहेक अरु कुनैले यस्तो गुनासो लिएर आएका छैनन् ।” उनका अनुसार कोरोनासम्बन्धी जनकारी दिने समितिहरू सीसीएमसी र डिसीएमसीसँग छलफल स्वास्थ्य समस्या आउन नदिने भएपश्चात् मात्र खोल्न सकिन्छ । उनले पर्यटन व्यवसायीलाई सहुलियतका लागि केन्द्र सरकारले ‘पर्यटन प्याकेज’ बनाएकाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित