माझठानाका झरनामा पर्यटन आवागमनमा रोक

कञ्चनपुर / विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका–२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी साउन १५ गतेसम्मका लागि पर्यटक आउन रोक लगाइएको हो ।

रोलखोला, निलीरह पर्यटन पूर्वाधार विकास समितिको आयोजनामा जनप्रतिनिधिसहित झरनामा क्यानोनिङ सञ्चालन गर्दै आएको ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिसहितको बैठकले उक्त निर्णय गरेको हो । झरनामा क्यानोनिङ गर्ने, स्नान गर्ने र दृश्यावलोकन गरेर रमाउने पर्यटकको चाप दिन प्रतिदिन वृद्धि भएको छ । भौतिक दूरी कायम नगर्नु, मास्कलगायतका सुरक्षाका सामग्री प्रयोगमा ध्यान नदिँदा रोग फैलिने खतरा बढेपछि केही समयका लागि बन्द गरिएको पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिए ।

“बिहीबार परेको अविरल वर्षासँगै गएको पहिरोले झरनासम्म जाने बाटोसहित निवाट चन्नीखोला सिँचाइ कुलोसमेत बगाएको छ” उनले भने,“ पहिरोले बगाएको नहर मर्मत गरी सिँचाइको व्यवस्था र बाटो निर्माणका लागि पनि झरनामा आवागमन बन्द गरिएको हो ।” बैठकमा उपस्थित पोखरा–२८ का वडाअध्यक्ष निर्मल दियालीका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन र बाटो तथा सँगै रहेको सिँचाइ कुलोको मर्मत, पहिरोको जोखिमसहित झरनामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि यतिखेर पर्यटन आवागमनमा रोक लगाइएको हो ।

“भौतिक पूर्वाधार निर्माणका लागि वडास्तरबाट सक्दो आर्थिक सहयोग रहने छ”, उनले भने, “झरना प्रदेशकै नवीनतम पर्यटकीय गन्तव्य भएकाले त्यसका लागि स्थानीय पहल अत्यन्त महत्वपूर्ण हुन्छ ।”बैठकले पोखरा वडा नं २८ र ३० को सङ्गमस्थल स्याङ्खुदीदेखि नेटालगायतका स्थानमा सूचना बोर्डसमेत राखेको उल्लेख गर्दै वडाअध्यक्ष दियालीले बन्द गरिएको अवधिमा पर्यटकमा देखिएको उत्साहलाई सम्बोधन गर्ने गरी झरनाको प्रचारप्रसारसहित भौतिक निर्माणमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भने सँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल शुरु गरिएको क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित