खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन

भद्रपुर / मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउनुपर्नेमा ४१ जना छुटेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताए ।

“एक जना पनि खोप लगाउनबाट बञ्चित हुनुनपरोस् भनेर हामीले खोप नलगाएका बालवालिका खोज्न स्वयंसेविका र भ्याक्सिनेटरहरुलाई परिचालन गरेका छौँ”, यादवले भन्नुभयो, “उहाँहरुले घरघरै पुगेर छुटेकाहरुको खोजी गर्नुहुनेछ ।”

सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई दादुरा, जापानी इन्सेफ्लाइटिसलगायत ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउने व्यवस्था गरेको छ । तर कोभिड–१९ को महामारी र अभिभावकले बिर्सने गरेका कारण कतिपय बालबालिका पूर्ण खोपबाट बञ्चित हुने गरेको यादवको भनाइ छ । नगरपालिकाले खोप लगाउन छुटेका २३ महिनासम्मका बालबालिकाको खोजी गर्ने भएको हो ।

नगरपालिकाले खोप नलगाएका बालबालिका खोज्नका लागि ९५ स्वास्थ्य स्वयंसेविका र १२ भ्याक्सिनेटरलाई परिचालन गरेको नगरका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिनुभयो । मेचीनगर नगरपालिकालाई विसं २०७५ असार ७ गते विधिवतरूपमा पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको थियो । नगरमा छ सरकारी स्वास्थ्य उपचार केन्द्र र एउटा सामुदायिक अस्पताल सञ्चालनमा छन् । हरेक महिनाको ३, ४, ५ र ६ गते बिदाको दिनसमेत खोप अभियान सञ्चालन हुँदै आएको छ । स्वास्थ्य शाखा प्रमुख राईले यही साउनदेखि बालबालिकालाई रोटा खोपसमेत लगाउन शुरु गरिने बताउनुभयो । झाडापखाला लागेको भनी उपचारका लागि आउने बालबालिकामा रोटा भाइरसको सङ्क्रमण पाइने गरेको छ । सरकारले साउनदेखि पहिलोपल्ट नेपालमा रोटा भाइरसविरुद्ध रोटा खोप लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित