रानीपोखरीको पिँध र पानी रहने पर्खालको काम सम्पन्न

काठमाडौं- रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालो माटो र ईटा ओच्छ्याउने तथा पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो। उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सोमबार उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिने बताएको प्राधिकरणले जनाएको छ।

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरीको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईटा ओच्छ्याएको हो। यसअघि, ०७७ बैशाख १२ (गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन) अघि यो काम सक्ने तालिका भए पनि कोभिड–१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनले गर्दा काम प्रभावित भएको थियो।

पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकाशे पानी संकलन एवम् प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिने र नपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिए।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ। त्यसैगरी, टुँडिखेलमा जम्मा भएको पानी ल्याउन पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए। यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ।

रानीपोखरीको पिँध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालिगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ पनि सहभागी भएका थिए। रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरीको सौन्दर्यकरणको काम जारी छ। यी काम सिए र तुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ।

ठेक्काको पनि करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिए। उनले भने, ‘बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेका छौँ।’

प्रतिक्रिया

सम्बन्धित