कोरोनाले रोक्यो पोखरेली रोपाइँ महोत्सव

चिप्लेढुङ्गा / असार १५ गते नजिकिँदै गर्दा किसानलाई मात्र होइन पोखराका पर्यटन व्यवसायीलाई पनि धान रोप्ने खेत खोज्ने चटारो हुने गथ्र्र्यो । पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्को आयोजनामा १७ वर्ष अघिदेखि कृषि पर्यटनका माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्बाउने उद्देश्यले रोपाइ महोत्सव हुँदै आएको थियो । यस वर्ष पोखरामा न त पर्यटक छन्, न त रोपाइँ महोत्सवको कुनै रौनक नै । कोरोना भाइरस महामारीले १७ संस्करणको रोपाइँ महोत्सव यस वर्ष नहुने भएको छ ।

संघले प्रत्येक वर्ष पोखराको फरक फरक ठाउँमा रोपाइँ महोत्सव गर्दै विदेशी पर्यटकलाई सहभागी गराउँदै आएको थियो । महोत्सव यस वर्ष कोभिड–१९ का कारणले हुन नसक्ने परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् । “हामीले १७ वर्ष अघिदेखि कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले असारे रोपाइँ महोत्सवको गर्दै आइरहेका थियौँ, तर यो वर्ष कोरोनाका कारण निरन्तरता दिन सकेनौँ ।” उहाँका अनुसार रोपाइँ महोत्सवमा सहभागी हुन अमेरिकाको रोट्रेडम युनिभर्सिटीबाट नेपालको परम्परागत खेतीप्रणालीबारे बुझ्न र अनुभव गर्न विद्यार्थी र प्राध्यापकसहितको टोली आउने गरेका थिए । महोत्सव अन्तरराष्ट्रिय जगत्मा समेत ‘ब्राण्डिङ्ग’ हुँदै गएको थियो ।

होटल एशोसियशन नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले रोपाइँ महोत्सवले पोखराको पर्यटन क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको बताए । “पोखराको रोपाइँ महोत्सव पृथक र रमाइलो वातावरणमा हुँदै आइरहेको थियो, स्वदेश फर्कन लागेका पर्यटक पनि महोत्सवका कारण रोकिने गर्थे, पर्यटक स्वयं हलो जोत्ने, कान्ला खन्ने, आली लगाउने र रोप्ने काममा सहभागी हुँदा निकै रमाइलो देखिने गथ्र्यो ।”

उहाँका अनुसार नेपाली र विदेशीबीच नाचगान, पञ्चे बाजा, असार गीतसँगै दहीचिउरा खाएर रोपाइँ महोत्सव मनाउने गरिन्थ्यो । रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले पर्यटकीय राजधानी पोखरामा हुने रोपाइँ महोत्सव पर्यटकको बसाइ लम्ब्याउन भूमिका खेल्ने गरेको बताए । “विदेशी र नेपालीबीच रस्साकस्सी, हिलो दौड प्रतियोगितालगायत पञ्चेबाजा, असारे गीतको रमझममा महोत्सव सफल हुँदै आएको थियो ।” त्यसैगरी असार १५ मा सरकारले मनाउँदै आएको धान दिवसमा यस वर्ष कोरोना महामारीका कारण सङ्क्रमण फैलिन सक्ने जनाउँदै कृषि विभागले हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने प्रोटोकलमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित