क्वारेन्टाइनमै कृष्ण र सीताको विवाह

दाङ / दाङमा एक जोडीले क्वारेन्टाइनस्थलमै विवाह गरेका छन् । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुले क्वारेन्टाइनस्थलको छेउमै रहेको बरपिपलको चौतारीमुनि बिहे गरेका हुन् । घोराही वडा नं.१८ का वडाध्यक्ष भरत अर्यालले पुरोहितको रुपमा मन्त्रोच्चारण गरेर उनीहरुको विवाह गराए । घोराही उपमहानगरपालिका–१८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका–७ की २१ वर्षीया सीता चौधरीको आइतबार विवाह भएको हो ।

उनीहरुको प्रेम थियो तर परिवारले नमानेका कारण विवाह हुन सकेको थिएन । अहिले परिवार पनि सहमत भएपछि उनहिरुको विवाहले पूर्णता पाएको हो । कृष्णका अनुसार २ वर्षअघि उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो । मित्रता विस्तारै प्रेममा परिणत भएको थियो । नयाँदिल्लीको एक होटलमा सेफको काम गर्ने कृष्णले ९ महिनाअघि नेपाल आएर सीतालाई साथमै लिएर गएका थिए ।

जेठ १० गते नेपाल फर्केका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुले त्यही दिन विवाह गरे । उनीहरुको विवाह हतारहतार गर्नुको कारण परिवारको धार्मिक मान्यता हो । जेठमा उनहिरु भागेर गएको ९ महिना भएको थियो । असारमा उनीहरु भागेको १० महिना हुने र दशौं महिनामा शुभकार्य गर्न नहुने मान्यता परिवारले राखेपछि हतारहतार जेठ महिनाकै अन्तिम दिन ३२ गते उनीहरुको विवाह गरियो ।

प्रतिक्रिया

सम्बन्धित