एसईई परीक्षा खारेज गर्न सांसदहरुको माग

काठमान्डाैं / स्थगित गरिएको एसईई परीक्षा खारेज गर्न सांसदहरुले माग गरेका छन् । कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नु पर्ने उनीहरुले बताए । नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने सांसदहरुको भनाइ छ ।

बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले एसईई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवशर अहिले मिलेको उल्लेख गर्दै नयाँ शिक्षा नीति अनुसार अगाडी बढ्नुपर्ने बताए ।

सांसद गगन थापाले अहिले एसईई परीक्षा खारेज गर्नुपर्ने बताए । एसईई खारेज गर्न कोरोना भाइरसले मौका ल्याएको उनको भनाइ छ । यस्तो परम्परागत परीक्षाको ढाँचा फेर्नु पर्ने भन्दै उनले आन्तरिक मुल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्नु पर्ने बताए ।
सांसद जीवनराम श्रेष्ठले शिक्षा नीति र ऐन नयाँ बनेपनि एसईई परम्परागत ढंगबाट सञ्चालनमा रहेको बताए । अहिलेको परिस्थितिले अवशर प्रदान गरेको भन्दै उनले नयाँ शिक्षा नीति र ऐन अनुसार यसलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने बताए । सरकारले निर्णय गरेर नीतिगत रुपमै यसलाई अगाडी बढाउनुपर्ने श्रेष्ठको भनाई छ ।

सांसद भैरवबहादुर सिंहले एसईई परीक्षा पहिलेको एसएलसीजस्तो बोर्ड परीक्षा नभएर माध्यामिक परीक्षा मात्रै भएकाले कक्षा ९ को जस्तो परीक्षाको ढाँचामा लिएर जानुपर्ने बताए । सांसद अञ्जना विशंखेले एक वर्षलाई मात्रै परीक्षा नगर्दा विद्यार्थी र अभिभावकहरुमा नकरात्मक असर पर्ने भएकाले योजना नै बनाएर एसईईको स्वरुप नै परिवर्तन गर्नुपर्ने बताइन् ।

समितिले विद्यालयहरुलाई शूल्क नलिन र औपचारिक रुपमा पठनपाठन नगर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । महामारीको समयमा परीक्षा, विद्यार्थी भर्ना र औपचारिक पठन पाठन नगराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित