महोत्तरीमा अज्ञात रोगका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो

महोत्तरी / महोत्तरीको २ वस्तीमा अज्ञात रोगबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे भंगाहा–७ स्थित रुपनारायण सिंह दनुवारको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी नभएको र अचानक बिरामी परेर मृत्यु भएको स्थानीयले बताएका छन् । शनिबार मात्रै भंगाहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक (इँटा भट्टामा काम गर्दै आएका) मोतिलाल प्रजापतिको मृत्यु भएको थियो ।

भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका दुई वस्तीमा विगत १० दिनभित्र मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृतकमा एकै खालको लक्षण देखिएको स्थानीय रामलाल मण्डलले बताए । अचानक पेट दुखेपछि बान्ता आउने र झाडापखला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।

भंगाहा नगरपालिकाका मेयर संजिव साहले व्यक्ति आधा घन्टाभित्रै बिरामी परेर मृत्यु हुने गरेको बताए । विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको डाक्टरहरुको टोली पनि घटनास्थल पुगेको छ । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित