अनलाइन किनमेल बढेपछि अमेजनका मालिक जेफ बेजोसले २४ अर्ब सम्पत्ति थपे

अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसले कोरोनाभाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपेका छन्। विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ।

अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ। माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ। यति हुँदाहुँदै पनि अमेरिकामा कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना भएको छ।

अमेजनमा बेजोसको ११ प्रतिशत शेअर छ र मङ्गलवार मात्रै अमेजनको शेअरको मूल्य ५.३ प्रतिशतले बढेको छ। लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्। वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ।
लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। बीबीसी नेपालीबाट

प्रतिक्रिया

सम्बन्धित