लकडाउनमा पनि पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार सहज

झापा / मोरङको उर्लाबारीकी ५३ वर्षीया बिन्दु बराल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा डिम्बासयको क्यान्सरको उपचार पाउँदा खुशी हुनुहुन्छ । यसअघि भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदै आउनु भएकी उहाँ बन्दाबन्दीका कारण भारत जान सम्भव थिएन ।

नेपालका अस्पतालमा डाक्टर नभेटिएलान् कि भन्ने उहाँको चिन्ता थियो तर आइतबार उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा बहिरङ्ग सेवामै डाक्टर भेट्नुभयो र उपचार पाउनुभयो । झापाकै कमल गाउँपालिका–२ की ६४ वर्षीया प्रेमकुमारी खतिवडाको नाकमा मासु पलाएपछि क्यान्सरको पहिलो चरण भएको पत्ता लाग्यो । बन्दाबन्दीले नियमित उपचारमा कठिनाइ होला कि भन्ने उहाँलाई पनि चिन्ता थियो । आइतबार विर्तामोडसम्म मोटरसाइकलमा बसेर सोही अस्पताल आउँदा पहिले झैं सबै डाक्टर उपचारमा तल्लिन रहेको उहाँले देख्नुभयो ।

आएको केहीबेरमा उहाँको रेडियसन दिने पालो मिल्यो । प्रदेश नं. १ र २ का क्यान्सर बिरामीका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको छ । विदेशमा यस अघि उपचार गराइरहेकासमेत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा नजिकको यही अस्पताल धाउन थालेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर एवम् अङ्कोलोजिस्ट डा वीरेन्द्र यादवले बन्दाबन्दीमा एक दिन पनि अस्पताल बन्द नरहेको बताउनुभयो । उहाँले बहिरङ्ग, रेडियसन, केमोथेरापी, प्रयोगशाला र शल्यक्रिया चालू रहेको जानकारी दिनुभयो । “लकडाउनको बेला दैनिक औसत ४० जना बहिरङ्गमा बिरामी आउनुहुन्छ”, चौबीसै घण्टा उपचार सेवा खुल्ला रहेको बताउँदै डा यादव भन्नुहुन्छ, “हामीले दैनिक ३० जनालाई रेडियसन र १५ जनालाई केमोथेरापी सेवा दिइरहेका छौँ ।” चितवन, भक्तपुर र भारतको विभिन्न अस्पतालमा रेडियसन र केमो लिइरहेका बिरामी कोरोनाको कारण उत्पन्न असहज परिस्थितिमा पूर्वाञ्चल क्यान्सर अस्पतालमै आउने गरेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताउनुभयो । अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा चालु रहेको र बिहान ०८ देखि बेलुका ६ बजेसम्म क्यान्सर रोगका विशेषज्ञ डाक्टर अस्पताल मै रहने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । झापाको कमल गाउँपालिकामा बस्नुहुने आफ्नी आमा प्रेमकुमारी खतिवडाको नाकको क्यान्सर उपचारमा आउनुभएकी काठमाडौँकी खिला खतिवडाले बन्दाबन्दीका बेला अन्यत्र धाउनु परेको भए मुस्किल हुने जनाउँदै विर्तामोड मै भर्खरै सञ्चालनमा आएको अस्पतालमा उपचार पाउनु धेरै दृष्टिकोणले सुविधाजनक भएको बताउनुभयो ।

उहाँले बन्दाबन्दीका बेला १८ पटक रेडियसन र केमो दिन पाएको जानकारी दिनुभयो । बन्दाबन्दीका बेला क्यान्सरका बिरामीले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर स्वास्थ्यकर्मीको जनशक्ति, औषधि र जाँचको प्रबन्ध पर्याप्त र भरपर्दो बनाइएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताउनुभयो ।
उहाँका अनुसार भारत र मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामी बन्दाबन्दीका कारण सहज उपचार खोज्दै पूर्वाञ्चल क्यान्सर अस्पताल आउने गरेका छन् । जुनसुकै अस्पतालमा उपचार गराएर हाल घरमा रहेका क्यान्सरका बिरामीले मोवायल फोनमार्फत परामर्श लिन सक्ने व्यवस्थासमेत मिलाइएको जनसम्पर्क अधिकृत गिरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित