नयाँ वर्षमा रौता र ताप्ली पोखरीमा मेला नलाग्ने
उदयपुर / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा उदयपुरको रौता र ताप्ली पोखरीमा प्रत्येव नयाँ वर्ष अर्थात बैशाख १ गते लाग्ने मेला नलाग्ने भएको छ । नेपाल सरकारले कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न अत्यावश्यक परेमा बाहेक धेरै मानिसहरु भेला÷जम्मा हुने सभा, सम्मेलन, तालिम, गोष्ठी, मेला, महोत्सव नगर्न दिइएको निर्देशन बमोजिम नयाँ वर्षमा रौता र ताप्ली पोखरीमा मेला नलाग्ने भएको हो ।
तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनु सबै सचेत नागरिकको जिम्मेबारी भएको र नेपाल सरकारले गरेको लकडाउनको पूर्णपालना गर्दै नयाँ वर्षमा रौता पोखरीमा मेला नलाग्ने रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार लकडाउनको उलंघन गरी कसैले रौतामाई गाउँपालिकामा मेला, महोत्सव लगाएको पाए कानून बमोजिम कारबाही गरिने समेत बताए । उनले भने, कोरोना संक्रमणको जोखिम बढाउने मानिसको भिडभाड पानी, धुलो, धुवा रहेकोले नयाँ वर्षमा रौता पोखरीमा मेला नलाग्ने भएकोले सवै सर्वसाधारणले लकडाउनको समयमा आ–आफ्नो घरमा बसिदिन हुन अनुरोध गर्दछु ।’
यस्तै ताप्ली गाउँपालिका २ ताप्ली पोखरी वा रानी पोखरीको नामले प्रख्यात रहेको पोखरीमा पनि नयाँ वर्षमा मेला नलाग्ने भएको छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको भएपनि कोरोना संक्रमणबाट बच्न देश नै लकडाउनको अवस्थामा रहेकोले नयाँ वर्षमा ताप्ली पोखरीमा मेला नलाग्ने पालिका प्रमुख उद्धव सिंह थापाले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणबाट बच्न र बचाउन ताप्ली पोखरीमा मेला नलाग्ने भएको छ ।
यस्तै कोरोनाको संक्रमण नहुन दिन त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा रौदीदास मन्दिरमा लाग्ने मेला पनि नयाँ वर्षमा नलाग्ने भएको छ भने चौदण्डीगढी नगरपालिका ९ थानपोखरीमा पनि मेला नलाग्ने भएको छ ।
प्रतिक्रिया