धरानस्थित बीपी प्रतिष्ठानमा रगत अभाव

धरान / लकडाउन लम्बिएकै कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा रगतको अभाव हुन थालेको छ ।

रगत अभाव भएकै कारण अहिले प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुले रिप्लेस गरेर काम चलाउन थालेका छन् । कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सरकारले गरेको लकडाउनले रक्तदान कार्यक्रम हुन नसक्दा अहिले रगतको अभाव चुलिएको हो ।

मोरङको उर्लाबारीबाट माइकल लिम्बु मादेनले आफ्नो काकालाई आन्द्राको समस्या भएर प्रतिष्ठान ल्याएका धेरै दिन भयो । काकाको शैल्यक्रिया गर्दा रगत चाहिने भए पनि प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा रगत अभाव भएपछि उहाले आफ्ना आफन्तबाट सहयोग गरेर रिप्लेसमा रगत दिनुभयो । छिनछिनमा रगत जाने समस्य भएका उहाको अहिले उहाको समस्या उस्तै छ । रगतको खाचो अझै छ । तर प्रतिष्ठानमा रगत अभाव हुदा समस्या भएको छ । रगत अभावकै कारण अहिले उपचार गराउन कठिनाइ भएको माइकल लिम्बु मादेनले बताउनुभयो ।

१२ दिनदेखि लगातार भएको लकडाउनका कारण अहिले रक्तदानका कार्यक्रम हुन सकेको छैन । सरकारले सभा, सम्मेलन तथा सार्वजनिक स्थलमा भीडभाड नगर्न दिएको निर्देशलाई पालना गर्ने क्रममा रक्तदान गर्ने संघ संस्थाहरुले पनि तोकिएको मिति पनि धमाधम रद्ध गर्दा यो समस्या अझै चुलिएको नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा सुनसरीका इन्चार्ज सुवास सिंहले बताउनुभयो ।

रगत अभाव हुन थालेपछि अहिले नेपाल रेडक्रस सोसाइटीले सार्वजनिक रुपमै रक्तदान गर्न विभिन्न व्यक्ति तथा संघ संस्थालाई आवहान गरेको छ । सोसाइटीले सुनसरीमा रहेका आफ्ना मातहतका उपशाखाहरुलाई समेत रक्तदान गर्न विभिन्न संघ संस्थासंग समन्वय गर्न निर्देशन दिएको छ । रगतको अभावबाट कोही पनि अकालमा मर्न नपरोस् भनेर अहिले रक्तदान कार्यक्रम गर्न विभिन्न संघ संस्थालाई सार्वजनिक अपिल गरिएको नेपाल रेडक्रस सोसइटी, सुनसरीका सभापति उमेश थापाले बताउनुभयो । उहाले भर्खरैमात्र सामाजिक दूरी कायम गर्दै रक्तदान र प्रतिष्ठानभित्र रहेको रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्न पनि आवहान गरेको उहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित