स्थानीयले संरक्षणमा ध्यान नदिँदा लोप हुँदै लाली गुराँस

उदयपुर / कुनै पनि निकायले संरक्षणमा चासो नदेखाउँदा उदयपुरको पहाडी क्षेत्रबाट लाली गुराँस लोप हुँदै गएको छ । जिल्लाको महारभारत क्षेत्रमा पाईने विभिन्न प्रजातिका लाली गुराँस पछिल्लो समय लोप हुदै गएको हो । नेपाल तथा भारतका पहाडी भू–भागमा पाइने एक प्रकारको वनस्पति लाली गुराँस उदयपुरमा संरक्षणको अभावमा लोप हुँदै गएको पाइन्छ । प्रायः फागुन चैत्र तिर महाभारत क्षेत्रको डाँडाँकाडमा रातैभएर फुल्ने लाली गुराँस मासिदै गएको सर्वसाधरण बताउँछन । जलवायु परिवर्तनले गर्दा अहिले लाली गुराँस फुल्ने समय अगावै फुल्न थालेका छन् । नेपालीको पहिचानसँग जोडिएको लाली गुराँस फुल नेपालको राष्ट्रिय फुल हो । राज्यले लाली गुराँसलाई राष्ट्रिय फुलको रुपमा पनि घोषणा गरे पनि संरक्षणको अभावमा उदयपुरमा भने मासिने क्रम वर्षेनी बढिरहेको जानकारहरुको भनाइ छ ।

शिशिर ऋतुमा हिमाल र उच्च पहाडी जिल्लाहरुमा थरीथरी रंगमा फुल्ने लाली गुराँस उदयपुरको महाभारत क्षेत्रमा प्रशस्त पाइन्छ । तर, राज्यले संरक्षण गर्नका लागि हालसम्म कुनै पनि योजनाहरु नबनाउँदा दिनप्रतिदिन लोप हुँदै गएको कटारी नगरपालिका ११ का स्थानीय दानबहादुर मगर बताउँछन । ‘यस कटारी नगरपालिका ११, १२ र १३ नम्वर वडामा विशेष गरेर लाली गुराँसको वन छ,’ उनले भने, ‘संरक्षणको लागि विगतका दिनमा सरकारी निकायबाट कुनै पनि पहल भएन, स्थानीयले दाउराको रुपमा प्रयोग गर्नाले र विभिन्न गाँउमा निर्माण गरिएका सडककै कारण मासिदै गएको छ ।’

लाली गुराँस स्वास्थ्यको लागि अचुक औषधि पनि भएकाले संरक्षण नभएको अगुवा सर्वसाधरणहरुको भनाइ छ । फूलका बिभिन्न प्रजाती संसारभरी नै पाइन्छन । समुन्द्र सतहदेखि एक हजार तीन सय मिटर देखि ५ हजार ६ सय मिटरको उचाइसम्ममा गुराँस पाइन्छ । उदयपुरको वन क्षेत्रमा पर्ने समुन्द्र सतहको दुई हजार एक सय मिटर उच्चाईसम्म पर्ने वन क्षेत्रमा विभिन्न प्रजातिका लाली गुराँस पाइने भएपनि अहिले लोप हुँदै गएको बुढापाकाको अनुभव छ । ताप्ली गाँउपालिकाको ताप्ली पोखरीका ८१ वर्षे लालध्वज मगरले महाभारत क्षेत्रमा रातो गाडा रंग भएको, सेतो अनि हल्का गुलावी रंग देखिने गुराँस पाइने गरेको बताउँछन । ‘त्यसको पनि विभिन्न प्रजाति हुँदो रहेछ,’ उनले भने, ‘सवैको नाम थाहा भएन, तर, सात आठ प्रकारका लागी गुराँस पाइन्थ्यो, अव हराउँदै गएको छ, तर, रातो र गुलावी रंगको गुराँस अहिले पनि देख्न पाइन्छ ।’

लाली गुराँसलाई विभिन्न रुपमा औषधि बनाएर प्रयोग गर्न सकिने उनको अनुभव छ । उनि भन्छन, ‘यसको फूललाई टिपेर छायाँमा सुकाई धुलो परेर बन्द भाडामा राख्ने र उक्त फुलको एक एक चम्चा धुलोलाई मिश्री पानी वा दुधसंग खानाले स्वर बसेको ठिक हुने गर्छ । पेट सम्बन्धि विरामी भएकालाई गुराँस सेवन अचुक औषधि भएको बुढापाकाको अनुभव छ । रक्त अल्पता, रक्तचाप, आमवात, चिनी रोग जस्ता अनेकौ रोगबाट मुक्ति दिन पनि लालीगुराँसको फूल उपयुक्त मान्छिन । लाली गुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने सकिने ग्रामिण विकास महाभारत विकास सँस्था हर्देनीका अध्यक्ष शंकर राउत बताँउँछन । ‘लाली गुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ,’ उनले भने, ‘लाली गुराँसको जुस बनाउन हामीले एक पटक हाम्रो संस्थामार्फत सरकारी निकायमा गुहार पनि मागेका थियौं, तर, सुनुवाई भएन ।’

लाली गुराँसलाई राष्ट्रिय फूलको रुपमा २०१९ सालमा मान्यता दिईएको थियो । नेपालको संविधान २०७२ ले पनि लाली गुराँसलाई राष्ट्रिय फुलको रुपमा मान्यता दिएको छ । नेपाली रुपैया ५ सय र एक हजारको नोटमा पनि लाली गुराँस अंकित चिन्ह रहेको छ । लाली गुराँस नेपालमा मात्र नभएर विदेशमा पनि त्यतिकै मन पराईएको फूल हो । लाली गुराँसको रुख भारतीय राज्य सिक्किमको राष्ट्रिय रुख पनि हो । उदयपुरको महाभारत क्षेत्रमा पर्ने त्रियुगा नगरपालिका, कटारी नगरपालिका, लिम्चुङबुङ, रौतामाई, ताप्ली, उदयपुरगढी गाँउपालिकामा लाली गुराँस पाइन्छ ।

त्यही लाली गुराँस संक्षणमा विशेष गरेर स्थानीय तहले ध्यान दिनु पर्ने डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साह बताउँछन । उनि भन्छन, ‘उदयपुरको महाभारत क्षेत्रमा रोडोडेन्ड्रन अर्वौरियम जुन फागुन देखि बैशाखको बीचमा फुल्छ, यसैगरी रोडोडेन्ड्रन ग्रान्डे प्रजातिको गुराँस पाइन्छ । त्यो पनि फागुन बैशाखमै फुल्ने हो । चैत्र बैशाखमा फुल्ने रोडोडेन्ड्रन हड्रोसोनाइ र रोडोडेन्ड्रन भिरगाटम अनि रोडोडेन्ड्रन थोमोसोनाइ बैशाख जेठमा फुल्ने गुराँस पाउने गरेको छ । तर, जलवायु परिवर्तनले गर्दा सिजन अगावै लाली गुराँसहरु फुल्ने गरेको उनले बताए । ‘उदयपुरमा धेरै प्रकारका पाइदैन,’ गुराँसको बारेमा अध्यन नहुँदा भन्न सकिदैन,’ उनले भने, ‘सवै राष्ट्रिय वनमा पाइने भएकाले सडक निर्माण, बढ्दो जनसंख्याले दाउराको रुपमा प्रयोग गर्नाले लोप हुँदै गएको छ ।’

कटारी नगरपालिका ११ का वडा अध्यक्ष दिपक बुढाथोकीले गुराँस संक्षणमा अभियान चलाउनु पर्ने बतउँछन । यता लिम्चुङबुङ गाँउपालिका अध्यक्ष मेजर कुमार राईले गाँउपालिकाभरी फुल्ने गुराँस संरक्षणमा अभियान चलाउने पर्ने बताए । ‘गाँउपालिकाले अन्य गाँउपालिकासँग सहकार्य गरेर संरक्षण अभियाननै चलाउने तयारीमा छ,’ उनले भने, ‘उदयपुरको महाभारत क्षेत्रको लाली गुराँसलाई पर्यटनसँग जोडेर संरक्षण गर्नु पर्ने वेला आएको छ ।’

प्रतिक्रिया

सम्बन्धित