पर्यटकको पर्खाइमा ओझेलमा परेको प्रदेश सङ्ग्रहालय

इटहरी / प्रदेश नं १ को धनकुटामा रहेको प्रदेश सङ्ग्रहालय प्रचार प्रसार को अभावमा ओझेलमा परेको छ । सामाजिक विकास मन्त्रालय मातहतमा रहेको सो सङ्ग्रहालय २०५१ साल बाट सर्बसाधरणलाइ खुल्ला गरिएको भए पनि अहिले सम्म ओझेलमा परेको हो । विभिन्न १६ जात जातीको संस्कार तथा संस्कृति झल्काउने दुर्लभ बस्तुहरू सङ्ग्रह गरी स्थापना भएको जातीय सङ्ग्रहालय अहिले पर्यटकको पर्खाइमा रहेको छ ।

सङ्ग्रहालयमा धिमालले बजाउने तुन्जाई, आठपहरिया राईको बिनायो, मेचेको दोत्रा बाजा जस्ता लोप हुन लागेका सयौँ थरीका बाजागाजा राखिएको छ । धनकुटा सदरमुकाममा रहेको सङ्ग्रहालयमा पूर्वमा रहेका सीमान्तकृत, अल्पसङ्ख्यक र लोपोन्मुख आदिवासीहरूको संस्कार र संस्कृतिको झल्को दिने गरेको छ । त्यस्तै सङ्ग्रहालयमा लिम्बु, धिमाल, मेचे, राजवंशी, शेर्पा, लेप्चा, आठपहरिया, लगायत जातजातिका भेषभुषा, हातहतियार भॉडाकुडा र संस्कार तथा संस्कृति झल्कने जानकारी उल्लेखित तस्बिर पनि राखिएको छ ।

सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल पर्न यो सङ्ग्रहालयकाे समेत महत्त्वपूर्ण भूमिका हुने देखिन्छ । यसको प्रचार प्रसार बढाउन सके आन्तरिक तथा बाह्य पर्यटककाे गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । धनकुटा, सङ्खुवासभा लगायतका क्षेत्रमा आउने पर्यटकलाई सङ्ग्रहालय सम्म ल्याउन सके पनि त्यस भेगका जनताको जीवन स्तरमा अझ सुधार हुने स्थानीयहरू बताउँछन् । सङ्ग्रहालयको प्रचार प्रसार गरे पनि सोचे अनुरूप पर्यटक भने नआएको प्रदेश सङ्ग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले बताए । दैनिक करिब दुई सय पर्यटक भित्राउने लक्ष्य भए पनि २०।२५ जना मात्र आउने गरेको उनले जानकारी दिए । साथै प्रचार प्रसार बढाउन मन्त्रालयमा बजेट माग भइरहेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित