जनयुद्धमा प्रचण्ड बसेको घर युद्ध पर्यटन क्षेत्र घोषित (तस्विरहरू सहित)

रोल्पा / नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्दका बेला लामो समय आवासका रुपमा प्रयोग गरेको रोल्पा राङसीस्थित घर र आसपास क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको छ । नेकपा स्थायी समिति सदस्य समेत रहनुभएका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सोमबार उक्त घर परिसरमा सोमबार आयोजित एक कार्यक्रमबीच सो क्षेत्रलाई ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गर्नुभयो ।

मन्त्री पुनले उक्त घर नेपालको राजनीतिक परिवर्तनका लागि भएको जनयुद्धको साक्षी भएको उल्लेख गर्नुभयो । मन्त्री पुनले परिवतर्तित सन्दर्भमा आफूहरुले त्यस घरलाई जनयुद्धमा सहभागी भएकाहरुको मात्र नभई राजतन्त्रको अन्त्य र गणतन्त्र, संघीयता, समावेशीतासहितका लागि भएका आन्दोलनहरुको बिम्ब र प्रतीक बनाउन चाहेको बताउनुभयो । ‘यो घर प्रचण्ड बस्नुभएको कारणले मात्र होइन, तत्कालीन अवस्थामा काठमाण्डौंमा रहेको ज्ञानेन्द्र शाहीको सरकार र जनताको समानान्तर सत्ताका बीचको संघर्षको केन्द्र हो’, मन्त्री पुनले भन्नुभयो, ‘यो लोकतन्त्र र परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी हुनेहरुको साझा घर हो ।’

सात राजनीतिक दल र तत्कालीन माओवादीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि भएको चर्चित रोल्पा वार्ताका लागि आएका तत्कालीन एमाले नेताहरु बामदेव गौतम र युवराज ज्ञवालीलाई सोही घरबाट गएर प्रचण्डले भेटेको पनि उहाँले स्मरण गर्नुभयो । प्रचण्डले त्यतिबेला प्रयोग गरेका खाट, खाना पकाउने र खाने भाँडा, कपडा, त्यहाँ बसेर लेखिएका दस्ताबेज सबै युद्ध पर्यटन केन्द्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने जानकारी मन्त्री पुनले दिनुभयो । उहाँले भारतमा अंग्रेजविरुद्धको आन्दोलन र चीनमा माओत्सेतुङ नेतृत्वमा भएको जनयुद्धका चिनारीस्वरुप कतिपय स्थानहरुलाई अझैसम्म सुरक्षित राखिएको र ती स्थान पर्यटकीय केन्द्र भएको चर्चा गर्दै प्रचण्डले जनयुद्धको नेतृत्व गरेको घर र सो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन उद्देश्य राखिएको बताउनुभयो । ‘इतिहासको अध्ययन गर्नेहरुका लागि यो एउटा राम्रो ठाउँ हुनेछ’ मन्त्री पुनले भन्नुभयो । संघ, प्रदेश र स्थानीय सरकार मिलेर उक्त स्थानको संरक्षण तथा प्रवद्र्धन गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो ।

०७१ सालमा संविधान बन्ने कि नबन्ने अन्योलबीच प्रचण्डले रोल्पा जाने इच्छा देखाएको र प्रचण्डसहित आफू, उपराष्ट्रपति नन्दबहादुर पुन, तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल, धनबहादुर मास्की सोही घरमा आएर एक रात बिताएको र त्यसले काठमाण्डुमा हल्लाखल्ला मच्चिएको स्मरण गर्नुभयो । तत्कालनि प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले टेलिफोन गरेर धेरै दिन रोल्पा नबस्न र काठमाण्डु आउन आग्रह गरेको प्रसंग पनि मन्त्री पुनले कोट्याउनुभयो । ‘प्रचण्डले जनयुद्धमा बसेको बंकरमा गएर सुत्न मन लागेको छ भन्नुभएको थियो’, पुनले भन्नुभयोे, ‘त्यसले ठूलै तरंग ल्यायो । उहाँ फर्केर काठमाण्डु गएपछि दलहरुबीच संविधानमा सहमति भयो । यो यो घर त्यस्तो शक्तिको श्रोत हो ।’

राङसीलाई एकपटक सबै आउनुपर्ने ठाउँका रुपमा विकास गरिने र त्यसबाट आसपास क्षेत्रका मानिरहरुले पनि लाभ लिनसक्ने उहाँको भनाइ थियो । य्ुद्ध पर्यटन केन्द्रमा एक दिन मानिसहरु आएर बस्न सक्ने बनाउन नजिकैका घरहरुमा होमस्टे सञ्चालन गर्न मन्त्री पुनले सुझाव दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले प्रचण्डले जनयुद्धको नेतृत्व गरेको घर इतिहासको साक्षी भएकाले त्यसको संरक्षण गर्न लागिएको बताउनुभयो । ‘यो ठाउँ कुनै बेला नन्दबहादुर पुन जन्मेको, जयपुरी घर्ती जन्मेको भनेर हेपिन्थ्यो, यहाँका मानिसलाई यातना दिइन्थ्यो’, उहाँले भन्नुभयो, ‘अब यहाँका मानिसले हिजो पाएका सबै दुःख बिर्सने गरी अवसरका रुपमा विकसित हुँदै छ ।’ नेकपा नेतृ एवं सांसद जयपुरी घर्तीले १५ वर्षअघिसम्म बम र बारुद पड्कने र ८१ एमएम मोर्टारबाट आक्रमणको शिकार व्यहोरेको ठाउँ युद्ध पर्यटन केन्द्रका रुपमा विकसित हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

व्यक्तिका रुपमा नभई जनयुद्धका प्रतीकका रुपमा चिनाउन प्रचण्ड बसेको घर आसपासलाई समेटेर युद्ध पर्यटन केन्द्र घोषणा गरिएको उहाँको भनाइ थियो । यस्तै कार्यक्रममा नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुनले मुस्लिमहरुको पवित्र तीर्थस्थल मक्कामदिना र हिन्दूहरुको पशुपति भनेजस्तै संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरुका लागि एकपटक आउनैपर्ने घरका रुपमा उक्त क्षेत्रको विकास गरिने बताउनुभयो ।

युद्ध पर्यटन विकास समितिका सचिव जितेन्द्र पुनले प्रचण्ड बसेको घरको मुनि रहेको ७० मिटर लामो सुरुङलाई आधुनिकीकरण गर्ने, नजिकैको डाँडालाई पिकनिक स्थलका रुपमा विकास गर्ने र घरको प्राङगणमा ढुंगा बिछ्याउने योजना रहेको जानकारी दिनुभयो । यस्तै घर नजिकै हेलिप्याड निर्माण गर्न लागिएको छ । जीर्ण अवस्थाको घर लड्नबाट जोगाउन चारैतिर फलामले टेको दिएर जस्ताको छानो लगाइको छ ।

प्रचण्ड स्थानीय लालबहादुर घर्तीको घरमा ०६१ वैशाखदेखि २०६१ फागुन ३ गतेसम्म पत्नी सीता र छोरा प्रकाशसहित बस्नुभएको थियो । तत्कालीन शाही सेनाले आफू त्यहाँ बसेको सूचना पाएको जानकारी आएपछि प्रचण्ड ३ फागुन २०६१ मा त्यहाँबाट नजिकै अर्को गाउँमा गर्नुभएको समिति सचिव एवं उपराष्ट्रपति नबन्दबहादुर पुन पुत्र जितेन्द्र पुनले बताए । प्रचण्डको सुरक्षा दस्तामा खटिएका पुनले प्रचण्ड त्यहाँबाट सरेको एक दिनपछि तत्कालीन शाही नेपाली सेनाले उक्त घरमा हवाई हमला गरेको स्मरण गर्नुभयो । घरका भित्तामा अहिले पनि गोलीले पारेका ठूल्ठूला प्वाल छन् ।

प्रतिक्रिया

सम्बन्धित