विश्वका १५० स्त्री रोग विशेषज्ञ विराटनगरमा, जटिल शल्यक्रिया निःशुल्क

विराटनगर / विराटनगरमा नेपालसहित विश्वका एक सय ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ भेला हुने भएका छन् । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलन विराट मेडिकल कलेज र प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था नेसोग पूर्व क्षेत्रीय शाखाको संयुक्त आह्वानमा हुन लागेकाे हाे ।दक्षिण एसियालीसहित विभिन्न मुलुकका बरिष्ठ स्त्री रोग विशेषज्ञ आउने भएका छन् । सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गर्ने बताइएकाे छ । कार्यक्रमको विशिष्ट अतिथीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत रहने छन् । विशेष गरेर महिलाहरुको तल्लो पेट, प्रजनन तथा पिसाबसँग सम्बन्धित अंगहरु र अविकसित अंगहरुको पुर्नसंरचनाको क्षेत्रमा काम गर्ने विशेषज्ञ चिकित्सक एकै ठाउँमा भेला हुने विराट मेडिकल कलेजका अध्यक्ष तथा बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीले जानकारी दिए ।

यस क्षेत्रमा काम गर्ने चिकित्सकले प्रमाणका आधारमा वैज्ञानिक खोजमुलक अनुसन्धान तथा उपलब्धीका विषयमा प्रकाशन र आफ्नो अनुभव आदानप्रदान गर्ने तथा महिलामा लाग्ने रोगका विशेषमा जनचेतना फैल्याउने सम्मेलनको मुख्य उदेश्य रहेको उनको भनाइ छ । फागुन १० गते शनिबार विशेषज्ञ चिकित्सकबाट प्रतिवद्धता सहितको स्वेत पत्र जारी हुने कार्कीले बताए ।

उनका अनुसार योनी बनाउने, पिसाब चुहिने, पिसाब बन्द हुने लगायतका महिलासँग सम्बन्धी विभिन्न खाले समस्याको जटिल खाले शल्यक्रिया हुने छन् । विश्वका स्त्री रोग विशेषज्ञले अहिलेसम्म दुई युवतीको योनी बनाउने र तीन जनाको पिसाब चुहिने समस्याको अन्त्यका लागि शल्यक्रिया गर्ने तय भएको उनको भनाइ छ । त्यो बाहेक महिलाको पिसाब बन्द हुने, आङ् खस्ने लगायतका समस्याको जटिल खाले शल्यक्रिया विश्वका चिकित्सकको उपस्थिति र प्रत्यक्ष संलग्नतामा विराट मेडिकल कलेज भित्रै हुने कार्कीले बताए । उनका अनुसार भेलामा अन्य मुलुकका एक सय र नेपालका ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ रहने छन् ।

कार्कीले नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय विशिष्ठ प्रतिनिधिको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने अपेक्षा गरिएको जानकारी दिए । ‘नेपालमा मेडिकल टुरिजमको विकासका लागि यस्ता कार्यक्रमले मद्धत गर्छ,’ उनले भने, ‘वर्षौदेखि रोगसँग लडिरहँदा पनि निको नभएर पीडित बनेका महिलाले पनि सहज र निःशुल्क उपचार पाउने छन् ।’

प्रतिक्रिया

सम्बन्धित