‘म्याद गुज्रेको हात्तीपाइले रोगविरुद्धको औषधि’

रुपन्देही / प्रदेश नं– ५ को प्रदेशसभाका सदस्यहरुले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य विजयकुमार यादवले बाँकेको डुँडुवा गाउँपालिकाको २ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाउनुभयो ।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो । ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको हो । बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गर्नुभयो ।

बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशमा बनाइने योजना, भइरहेका गतिविधि र विकास निर्माणका कामबारे सदस्यहरुलाई जानकारी हुन आवश्यक रहेको भन्दै जनप्रतिनिधिको सहभागितामा योजना बनाउँदा प्रभावकारी हुने धारणा राख्नुभयो । प्रदेशसभाका सदस्य विष्णुप्रसाद पन्थीले लगानी सम्मेलन सफल बनाउन लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभयो ।

लगानी सम्मेलनले लगानी भित्र्याउने र रोजगारी सिर्जना गरी उत्पादन बढाउने काम हुनुपर्ने उहाँको भनाइ थियो । अर्का सदस्य अष्टभुजा पाठकले प्रदेशको नामाकरण र राजधानी तोक्न अब ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित