विद्यालयमा पार्टी राजनीतिकाे प्रभाव, उत्कृष्ट विद्यालय थला पर्ने सङ्केत

इटहरी / शिक्षा क्षेत्रमा हुने पार्टीगत राजनीतिलाई राम्रो मानिदैन् । पार्टी राजनीतिको प्रभाव अनि विभिन्न किचलो र खिचातानीले विद्यालय धराशायी बन्ने गरेका छन् । कतिपय विद्यालयमा हुने फोहोरी राजनीतिले ती विद्यालय कहिल्यै उठ्न नसक्ने गरी थला परेका छन् । इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय पनि त्यस्तै अवस्थामा पुग्न लागेको छ । सुनसरीको उत्कृष्ट विद्यालयको सूचिमा पर्न सफल विद्यालय राजनीति प्रभावले असफल बन्न लागेको सङ्केत देखा पर्न थालेको छ । विद्यालयमा हुने प्रत्येक गतिविधिले विद्यार्थीको पठन पाठनमा प्रत्यक्ष असर पारेको हुन्छ । यस विद्यालयमा पनि राजनीतिक खिचातानीले व्यवस्थापन समितिको निर्वाचन हुन नसक्दा विद्यार्थीको मनोविज्ञान तथा पठन पाठनमा प्रत्यक्ष असर पारेको छ ।

माघ १७ गते हुने भनिएको व्यवस्थापन समितिको निर्वाचन बिथोलिए पछि अन्योलको अवस्था सिर्जना भएको छ । नेपाली काँग्रेस र नेकपा निकटका अभिभावकहरू प्यानल नै बनाएर उक्त निर्वाचनमा होमिएका थिए । तर निर्वाचनको अन्तिम समयमा नेकपा निकट अभिभावकहरूले निर्वाचनमा धादलि भएको भन्दै विरोध गरेका थिए । उनीहरूको विरोध पछि स्थगित भएको निर्वाचन कहिले हुने भन्नेमा अन्योल छ । निर्वाचनमा विवाद भए पछि उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले तत्काल निर्वाचन नगर्न निर्देशन दिएका छन् । व्यवस्थापन समितिको निर्वाचन हुन नसक्दा विभिन्न समस्या भएको विद्यालय स्रोतले बताएको छ ।

त्यसै गरी विद्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा अनियमितताको उजुरी परेको छ । आयोगले विद्यालयको उजुरीका विषयमा अनुसन्धान समेत थालेको छ । नेपालमा पार्टीगत राजनीतिबाट शिक्षा क्षेत्र कहिले अलग हुन सकेनन् । यस्तै राजनीतिले पठन–पाठनमा उत्कृष्ट रहेका विद्यालयहरू सङ्कटमा पार्दै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित