स्तनपान कक्षसहित अपाङ्गता शौचालय निर्माण हुने

काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिका र सङ्घबीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो । कलङ्की, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच वर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जनाइएको छ ।

सम्झौताअनुसार शौचालय सञ्चालनमा आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम सङ्घले गर्नेछ । ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ । यसरी सङ्कलन भएको शुल्कबाट व्यवस्थापन र मर्मतसम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च गरिने सङ्घका कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले जानकारी दिनुभयो ।

सम्झौताअनुसार पहिलो चरणमा कलङ्की र कोटेश्वरमा निर्माण भएपछि बाँकी दुई स्थानको काम अघि बढाइने जनाइएको छ । महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई वाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ । त्यस्तै बच्चालाई डाइपर फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो ।

चार वर्षदेखि सार्वजनिक शौचालय निर्माणबारे छलफल गर्दै आएको कामपाले पनि सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई सार्वजानिक शौचालय निर्माणमा पहिलो प्राथमिकतामा राखेको छ । नयाँ शौचालय निर्माणसँगै मौजुदा सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने जनाइएको छ । साथै पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा श्रेष्ठ जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित