सुनसरीमा ८९ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने

इनरुवा / सुनसरीमा ८९ हजार ६ सय ७८ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा संचालन गर्न लागेका दारुरा रुबेला खोप अभियानबाट सो संख्यामा बालबालिका लाभान्वित हुने बताएको हो । फागुन १ गतेबाट संचालनमा ल्याइने खोप अभियानको प्रभावकारीतालाई ध्यानमा राखी कार्यालयले सरोकारावालाहरुसँग छलफल चलाउनु साथै सहकार्य समेत थालेको छ । जिल्ला खोप समन्वय समिति र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा आज खोपको तयारी लगायतका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा स्वास्थ्य प्रमुख सागर प्रसाईले ९ महिना देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई लगाउने तयारी थालिएको खोप अभियानका बारेमा जानकारी गराउनु भएको छ ।
सुनसरीमा दुई चरणमा दारुदा रुबेलाको खोप अभियान संचालनमा ल्याउन लागिएको छ । पहिलो चरण अन्र्तगत फागुन १ गते देखि ९ गते सम्म सुनसरीको इनरुवा, धरान, दुहवी, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंहमा अभियान संचालन गर्न लागिएको छ ।

बाँकी रहेका स्थानीय तहमा फागुनको १४ गतेबाट २२ गते सम्म खोप अभियान चलाइने छ । सुनसरीमा ९ महिना देखि ५९ महिना सम्ममा ८९ हजार ६ सय ७८ बालबालिकालाई दादुरा रुबेला खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । खोपसँगै पोलियो थोपा समेत खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानका लागि सुनसरीमा ८ सय ७० खोप कार्यकर्ता परिचालित हुँदैछन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार अभियानकालागि १३ सय ५० स्वास्थ्य स्वयंसेवक खटिदै छन् ।

प्रतिक्रिया

सम्बन्धित