प्रविधिको प्रयोग मार्फत लैङ्गिक असमानता हटाउन प्रदेश नं २ मा ‘गर्ल्स इन टेक’

जनकपुर / प्रविधि क्षेत्रमा रहेको लैङ्गिक असमानतालाई हटाउन प्रदेश नं २ मा गर्ल्स इन टेक (प्रविधिमा किशोरी) परियोजनाको थालनी गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादव, र डीएफआईडी नेपालकी प्रमुख लिजा होनानले जनकपुरमा आयोजित एउटा विशेष समारोहबीच संयुक्त रूपमा उक्त परियोजनाको शुभारम्भ गर्नुभएको हो ।

युकेएडको रोजगारीका लागि सीप कार्यक्रम अन्तर्गत जेनेस क्लाउड एकेडेमी, फ्युजमेसिन्स नेपाल र गर्ल्स इन टेक–नेपालको संयुक्त सहकार्यमा सो परियोजनाको थालनी गरिएको हो । प्रविधि क्षेत्रमा रहेको लैङ्गिक भेदभाव अन्त्य गर्ने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु यस परियोजनाको उद्देश्य रहेको छ । परियोजनाले स्नातक हुन लागेका विद्यार्थीलाई विश्वभर दिइने अनलाइन तालीम साधन तथा प्रमाणीकरण उपलब्ध गराउनुका साथै व्यक्तिगत रूपमा परामर्श र कम्पनीलाई चाहिएको सीपयुक्त श्रमशक्तिमा पहुँच हुने सुनिश्चित वातावरण निर्माणमा सघाउ पुर्याउनेछ ।

कार्यक्रमका अवसरमा बोल्दै मुख्यमन्त्री राउतले प्रविधिक युगअनुरुप प्रदेशमा जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजनाले सो अभियानलाई सार्थक तुल्याउन सहयोगीसिद्ध हुने धारणा राख्नुभयो । मुख्यमन्त्री राउतले छोरीप्रतिको विभेद हटाउन सरकारले बेटी पढाऊ, बेटी बचाऊ, साइकल वितरण र सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो । उहाँले समाजमा छोरीलाई मानसिक रूपले कमजोर बनाउने, अवसरबाट वञ्चित गराउनेलगायतका मानसिकता र गतिविधि विद्यमान रहेकाले यसको अन्त्य गर्न र परिवर्तनका लागि किशोरीलाई प्रविधिमूलक शिक्षा दिनु आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, मन्त्री यादवले वर्तमान प्रविधिको युग भएकाले किशोरीलाई प्रविधितर्फ ध्यानाकर्षण गराई दीक्षित गर्नु आवश्यक रहेको बताउनुभयो । किशोरीलाई प्रविधिमा पहुँच गराई शारीरिक, मानसिक, सामाजिक रूपले आत्मबल अभिवृद्धि गराउनु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

उक्त अवसरमा युकेएड सीपका टिम लिडर बलजीत बोहराले आर्थिक तथा सामाजिक रूपमा कमजोर पृष्ठभूमिका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने घोषणा गर्नुभयो । साथै, उक्त कार्यक्रममा जनकपुरमा अवस्थित जानकि बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत तथा नेपालकै सबैभन्दा कान्छि सफ्टवेयर प्रोग्रामर मध्येकी एक ज्योती सिंहलाई पहिलो छात्रवृत्ति प्रदान गरियो भने अन्य नौ सीटका लागि आवेदन खुला गरिएको छ ।

‘गर्ल्स इन टेक’ संसारभर फैलिएको एक गैर नाफामूलक संस्था हो । संस्थामा ३६ देशमा एक लाखभन्दा बढी सदस्य रहेका छन् । यसको नेपाल शाखा सन् २०१९ नोभेम्बरदेखि शुरू भएको हो ।

प्रतिक्रिया

सम्बन्धित