नवजात शिशु मृत्युदर घटाउन सुसार कार्यक्रम

चितवन / नवजात शिशु मृत्युदर घटाउन सबै प्रदेशका आठवटा सरकारी अस्पतालमा सुसार कार्यक्रम शुरु गरिएकोे छ । नेपाल सरकारसँग सहकार्य गरेर गोल्डेन कम्युनिटीले गत वैशाखबाट यो कार्यक्रम अस्पतालमा शुरु गरेको हो । हालसम्म पाँचवटा अस्पतालमा कार्यक्रम लागू भइसकेको छ भने बाँकी अस्पतालमा पूर्वतयारीका काम भइरहेका छन् । गोल्डेन कम्युनिटीले सोमबार यहाँ आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा दिइएको जानकारीअनुसार जनकपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली र सेती अस्पतालमा कार्यक्रम लागू भइसकेको छ । भरतपुर अस्पताल, कोशी अस्पताल र डडेल्धुरा अस्पतालमा कार्यक्रम लागू गर्नका लागि तयारी कार्य भइरहेको छ ।

कार्यक्रममा गोल्डेन कम्युनिटीकी सञ्चार विज्ञ सिर्जना शर्माले मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याई पहिलो दिनमा हुने नवजात शिशु मृत्युदर घटाउने, मातृशिशु स्याहारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई नवजात शिशु स्याहारासम्बन्धी ज्ञान तथा सीप बढोत्तरी गर्ने, प्रसूति सेवालाई प्रभावकारी ढङ्गले निगरानी गर्ने र सेवा प्रदान गर्न तथा उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई शशक्त बनाउन सुसार कार्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार हरेक वर्ष नेपालमा छ लाख शिशु जन्मन्छन्, जसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मिन्छन् भने करिब १३ हजार नवजात शिशुको जन्मिएको एक महिना नपुग्दै मृत्यु हुने गरेको छ । नवजात शिशुको मृत्युका कारणमध्ये महिना नपुगी जन्मनु ३१ प्रतिशत, जन्मनासाथ सास फेर्न नसक्नु २३ प्रतिशत र सङ्क्रमण हुनु १९ प्रतिशत प्रमुख कारण हुन् ।

नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्यु प्रतिहजारमा २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मिने शिशुको दर प्रतिहजार १३ मा घटाउने लक्ष्य अघि सारेको छ । सरकारको यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न सुसार कार्यक्रम गर्न लागिएको कार्यक्रम प्रबन्धक रेजिना गुरुङ जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित