विद्यालयमा भजन प्रतियोगिता, सिद्धेश्वर भयो प्रथम

विराटनगर / संस्कार, संकृतिको जगेर्ना गर्ने उदेश्यले विराटनगर महानगरपालिका–४ मा रहेको मदरल्याण्ड एकेडेमीले भजन प्रतियोगिताको आयोजना गरेको छ । सरस्वती पूजाको अवसरमा आयोजित प्रतियोगितामा १० वटा विभिन्न भजन किर्तन समूहले सहभागिता जनाएको स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले बताए । जसको निर्णायकमा भजनका गायक एवं संगीतकार माधवशरण घिमिरे र केशव कार्की थिए । प्रतियोगितामा सिद्धेश्वर प्रथम, शान्ति द्धितिय र सनातम भजन किर्तन समूह तृतिय हुँदै क्रमस १२, १० र सात हजार रुपैयाँ नगद पुरस्कार पाए । विजेता समूहलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । अन्य सहभागी सातवटा टिमलाई तीन हजारका दरले सान्त्वना पुरस्कार दिइयो ।

‘समाज र शैक्षिक संस्थामा धार्मिक एवं आध्यात्मिक चेतनाको विकास र प्रवद्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो,’ प्रिन्सिपल बुढाथोकीले भने, ‘जसले सकारात्मकतातर्फ उन्मुख गरेर समाजलाई अनुशासित बनाउन पनि मद्धत गर्छ ।’ उनले भजन किर्तनले सबैमा सकारात्मक सोंचको विकास हुने, मान्छेलाई आशावादी, नैतिकवान र असल चरित्रमा रहन सिकाउने बताए । उनले भजनले धार्मिक बनाएर लैजाने र गलत गतिविधी तथा कृयाकलापबाट टाढै बस्न प्रेरित गर्ने बताए । भजनले भविष्यका कर्णधार विद्यार्थी बालबालिकालाई पनि सकारात्मक बन्न सिकाउने बुढाथोकीको भनाइ छ ।

भजन गायक एवं संगीतकार घिमिरेले भजनले आध्यात्मिक चेतनाको विकास भई मान्छेलाई नकारात्मकता विरोधी बनाउने बताए । भजनले समाज हाम्रो हो र हामीले नै विकास गर्नु पर्छ भन्ने भाव जगाउने उनको भनाइ छ । घिमिरेले समाजलाई सकारात्मक बनाएर मान्छेलाई धार्मिक, सालिन र भद्र बनाउन भजनको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । समाज परिवर्तन गराउने महत्वपूर्ण कसीका रुपमा भजनलाई लिइने गरेको बताउँदै उनले त्यसले समाजलाई जागरुक बनाउने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित