पञ्चायत मा.वि.काे ५५ औं वार्षिकोत्सब सम्पन्न

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ७ गाेठगाउँमा रहेको पञ्चायत माध्यमिक विद्यालयले आफ्नो ५५ औं वार्षिकोत्सब समारोह भव्य रुपमा सम्पन्न गरेको छ । विद्यालयकाे वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथी १ न. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की रहेका थिए । उनले सामुदायिक विद्यालयको उचित ब्यवस्थापन गरि ब्यावहारिक तथा राेजगार मूलक शिक्षामा लाग्न जोड दिए । कार्कीले सामुदायिक विद्यालयलाई अगाडी बढाउन आफ्नाे तथा प्रदेश सरकारको तर्फबाट हर कदम सहयोग गर्न तयार रहेकाे बताए ।

कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक गुरुप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा बिद्यालयका जग्गादाताहरु राजाराम तेली शाहु , धनकेशरी तेली शाहु , भिखम तेली शाहु , गया तेली शाहु , साेनाकुमारी श्रेष्ठ लगायतलाई विशेष सम्मान पत्रद्वारा सम्मानित गरिएको थियाे । समाराेहमा विद्यालय ब्यवस्थापन समितीका पूर्व अध्यक्षहरु, विद्यालयका संस्थापक सदस्य , विद्यालयका पूर्व प्रध्यानाध्यापकहरु , संस्थापक तथा पूर्व शिक्षकहरुलाई समेत सम्मान पत्रले सम्मानित गरिएको थियाे । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यातित्व तथा अार्थिक रुपमा सहयाेग गर्ने पूर्व विद्यार्थीहरु तथा अतिरिक्त क्रियाकलाप र पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको विद्यालयका शिक्षक लक्ष्मीप्रसाद पाेखरेलले जानकारी दिए ।

विद्यालयकाे वार्षिकोत्सब समाराेहमा विशिष्ट अतिथीहरुमा १ नं प्रदेश सांसद लोकप्रसाद संग्रौला , चुमनारायण तब्दार , सुन्दरहरैंचाका नपाका नगरप्रमुख शिवप्रसाद ढकाल तथा उपप्रमुख धनामाया तामाङ लगायत रहेका थिए । अतिथीहरुमा वाड न. ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौला, प्रदेश नं १ खेलकुद विकास समितीका प्रमुख चण्डिका बास्तोला, सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारी लगायत शिक्षासेवी , बुद्धिजिबि , समाजसेवी तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाराेहमा विभिन्न विधाका मनोरञ्जनात्मक प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन शिक्षक अम्बिका सापकोटाले गरेका थिए भने कार्यक्रम विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टोमबाहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित