मधुमल्लामा सहायक प्रअले नै पठाए शिक्षिकालाई अश्लील म्यासेज

उर्लाबारी / आफ्नै सहकर्मी शिक्षिकालाई अश्लील म्यासेज पठाएको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लास्थित भगवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलविरुद्ध प्रहरीमा उजुरी परेको छ ।सहायक प्रधानाध्यापक पौडेलले सहकर्मी शिक्षिकालाई सामाजिक सञ्जाल मार्फत् अश्लील म्यासेज पठाएर हैरानी दिएको भन्दै उजुरी परेको हो । पौडेलले म्यासेज पठाएसँगै उनी कानूनी र व्यवहारिक समस्यालाई छल्न एक महिनादेखि फरार छन् ।

शिक्षक पौडेलबाट मानसिकरूपमा सताइँदै आएकी मिक्लाजुङ मधुमल्लाकी २१ वर्षीया शिक्षिका र उनका परिवारले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले उनलाई अश्लील म्यासेज लेखेको पाइएको छ । शिक्षिकाले भने प्रत्येक वाक्यांशमा असहमति र आपत्ति जनाएकी छन् ।

पीडित शिक्षिकाका अनुसार विद्यालय समयमा पनि पौडेलले अनेक प्रलोभन देखाउँदै आएका थिए । ‘मलाई कसैले केही गर्न सक्दैन, झन् तिम्रो कुरा त तिम्रो परिवारले पनि पत्याउँदैन’ भन्दै थर्काउने गरेको पनि शिक्षिकाले खुलाइन् । यसैबिच इलाका प्रहरी कार्यालय उर्लाबारीले शिक्षक दुर्गाप्रसाद पौडेलविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । उर्लाबारी–७ घर भएका पौडेललाई पीडितको जाहेरीअनुसार अभद्र व्यवहार मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक सुभाष राईले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित