मनमोहन स्मृति पोलिटेक्निकद्धारा सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर / मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।  मोरङको बूढीगंगा गाँउपालिका ४ हात्तिमुडामा मनमोहन स्मृति प्रतिष्ठानद्धारा सञ्चालित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको हो । मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।

पोलिटेक्निकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई करिव २ अर्ब १ करोड बढीको सम्पति मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरे । पोलिटेक्निकका अध्यक्ष पोखरेल, विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र समाजिक विकास मन्त्री एवं सहकुलपति घिमिरेले सम्पत्ति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको २० विगाहा जग्गा र ३१ वटा भवन र विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेलले बताए । कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले नेपालै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय निर्माण गरेको बताए । उनले नेपालमा रहेका अन्य विश्वविद्यालयको तुलनामा मनमोहन प्राविधिक विश्वविद्यालय पृथक भएको बताए । उनले प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विश्वविद्यालयलाई विकास गर्ने सरकारको योजना रहेको बताए । उनले विश्वविद्यालयले एक वर्ष भित्रमा पठन पाठन सुरु गर्ने बताए । उनले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरे पनि प्रदेश भित्र मात्र सीमित नरहने बताए । घिमिरेले भने, ‘अन्य विश्वविद्यालय जस्तै यो पनि विश्वव्यापी रुपमा रहने छ ।’

विश्वविद्यालयका कुलपति तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतिकुलताकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धि विधेयक पास गरेर मात्र मुर्तरुप दिन सकिएको स्मरण गरे । उनले यसलाई नमुना विश्वविद्यालय बनाइने उद्घोष गरे । ‘यो नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय हो । मुलुकका सातवटा प्रदेश मध्ये अहिलेसम्म कुनै पनि प्रदेशमा यो विश्वविद्यालय छैन,’ उनले भने ।

पोलिटेक्निका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले हरेक प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको बताए । उनले अबको शिक्षा ७० प्रतिशत प्राविधिक र व्यवसायिक हुनु पर्नेमा जोड दिए । मन्त्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदेश १ का १४ वटै जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी विश्वविद्यालयका कार्यक्रमलाई फैलाउने बताए । उनले मनमोहन पोलिटेक्निकले विगतदेखिनै शिक्षा र प्राविधिक विषय अध्ययन क्षेत्रमा विशिष्ट भूमिका खेलकै कारण तीन पटकसम्म राष्ट्रिय सम्मान हाँसिल गर्न सफल भएको जानकारी दिए ।

प्रदेश सभाले मनमोहन प्राविधि विश्वविद्यालय सम्बन्धी विधेयक गत असोज ६ गते संसदबाट पारित गरेको थियो । विधेयकलाई असोज १६ गते तत्कालिन प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले प्रमाणिकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित