पूर्वाञ्चल विश्व विद्यालय विरुद्ध विद्यार्थी आन्दोलित

विराटनगर / परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेका छन् । आन्दोलनरत विद्यार्थीले दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय घेराउ गरिरहेका छन् । उत्तरपुस्तिका पुनः परिक्षण हुनु पर्ने मुख्य माग उनीहरुको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका विराटनगरकै इष्टर्न र पुसेट ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरूले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित परीक्षा नियन्त्रण कार्यालय बिहीबार पनि घेराउ गरेका छन् । पटक–पटक परीक्षा दिँदा पनि अनउत्तीर्ण हुने गरेपछि उत्तरपुस्तिका माग गरेर हेर्दा फेल हुने अवस्था नदेखिएको भन्दै विद्यार्थील उत्तरपुस्तिका पुनः जाँच गर्न माग गरिरहेका हुन् ।

परीक्षा प्रणाली अपारदर्शी र परीक्षार्थी मैत्री नभएको आरोप लगाउँदै बुधबारबाट आन्दोलित बनेका विद्यार्थीले विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय तोडफोड पनि गरेका छन् । तोडफोडबाट परीक्षा नियन्त्रण र सह–नियन्त्रकको कार्यालयसहित प्रशासन र लेखा शाखाका सिसा र फर्निचरमा क्षति पुगेको छ । विद्यार्थी नेता मनोजकुमार रैताले विगतमा दिइएका ईञ्जिीनियरीङको लिखित परीक्षामा विद्यार्थीहरु उतीर्ण हुनुपर्नेमा जानाजान अनउत्तीर्ण गराउने गरेको पाइएपछि आन्दोलन गर्नु परेको बताए । आन्दोलनरत विद्यार्थीले विभिन्न माग राख्दै परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

विद्यार्थीहरुले हरेक सेमेष्टरमा मौका परीक्षा गर्नु पर्ने, निष्पक्ष तरिकाले परीक्षाफल सार्वजनिक गर्नु पर्ने, उत्तरपुस्तिका रिचेकिङमा लाग्ने पाँच हजार रुपैयाँ दस्तुरलाई पाँच सय रुपैयाँ मात्रै बनाउनु पर्ने, उत्तर पुस्तिका परीक्षण र परीक्षाफलमा लापरबाही गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्त गर्नु पर्ने, रिचेकिङका क्रममा परीक्षाफल परिवर्तन भएको पाइएमा परिवर्तित परीक्षाफल लागू गर्नु पर्ने र उत्तरपुस्तिका कोडिङ गरेर मात्र चेक गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग अघि सारेका छन् ।
विश्व विद्यालयका परीक्षा नियन्त्रक प्राडा. सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु विश्व विद्यालयको नीति र नियममा रहेर सम्बोधन गर्न आफूहरु तयार रहेको बताए । उनले क्याम्पसको माध्यमबाट प्रक्रियागतरुपमा विद्यार्थीहरुले आफ्ना समस्या लिएर आए नियमसंगत ढंगले सम्बोधन गर्न सकिने उल्लेख गरे ।

कार्यालयको गेटमै धर्ना बसेर नाराबाजी गर्दै प्रदर्शन र तोडफोड गर्न थालेपछि नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर परीक्षा नियन्त्रण कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीका डीएसपी वेदप्रसाद गौतमको नेत्रृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डीएसपी गौतमले शान्तिपूर्ण ढंगबाट आफ्ना माग राख्ने अधिकार रहे पनि आन्दोलनका नाममा अब कुनै हुलहुज्जत र तोडफोड भएर त्यसमा संलग्नलाई पक्राउ गरेर कारबाही अघि बढाइने जानकारी दिए । विद्यार्थीहरुले भने आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित