गर्भवतीलाई अण्डा उपहार

इनरुवा /  सुनसरीको बर्जु गाउँपालिकाले गर्भवती महिलाकालागि अण्डा वितरण कार्यक्रमको सुरुवात गरेको छ ।  गाउँपालिकाको कार्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि वडा नम्वर २ बाट सो अभियानको थालनी गरेको छ ।  गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले अभियानको शुभारम्भ गरेका हुन् ।  नियमित स्वास्थ्य जाँच गराउने परिपाटीको विकास गराउने उद्येश्यसाथ गर्भवतीकालागि पौष्टिक आहार वितरण कार्यक्रमको थालनी गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । गाउँपालिकाको कार्यालयले सबै वडामा अभियानलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ ।

स्वास्थ्य जाँचमा नियमित पहुँच बढाउनुका साथै कुषोषण मुक्त समाज निर्माणकालागि पौष्टिक आहारको कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले जानकारी दिए ।  बर्जुमा विगतको दाँजोमा स्वास्थ्य संस्थामा पुगेर नियमित जाँच गराउनेको संख्यामा वृद्धि भएपनि सरकारी लक्ष्य अनुरुपको उपलब्धी भने हात पर्न सकेको छैन् । गाउँपालिकाले नमूना कार्यक्रमका रुपमा अण्डा उपहार कार्यक्रम संचालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु श्रेष्ठले बताए ।

बर्जु गाउँपालिकाले जिल्लामै पहिलो पटक गर्भवतीलाई अण्डा उपहार कार्यक्रम थालनी गरिएको दाबी गरेको छ ।  सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष संगिता कुमारी राय, प्रमुख प्रशासकीय अधिकृत नवराज कार्की, वडाध्यक्षहरु श्याम कुमार गुरुङ, आनन्द यादव, किशोर कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले जेष्ठ नागरिककालागि निःशुल्क दाँत उपहार कार्यक्रम समेत सञ्चालनमा ल्याउन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित