वीपीका डा.गुरु खनाल कार्यवाहक उपकुलपतिमा नियुक्त

धरान / सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यवाहक उपकुलपतिमा रेक्टर डा.गुरु खनाललाई नियुक्त गरेको छ । उनलाई उपकुलपतिको सम्पुर्ण अधिकार प्रयोग गर्न मिल्ने गरी कार्यवाहक उपकुलपतिमा नियुक्ती गरिएको हो ।

यसअघि रेक्टर खनाल निमित्त उपकुलपति मात्र थिए । सिमित अधिकार मात्र तोकेर निमित्त उपकुलपति बनाइएको कारण उनी कामचलाउ मात्र थिए । तत्कालिन उपकुलपति डा.राजकुमार रौनियारलाई रंगेहात घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि रेक्टर खनाल निमित्त उपकुलपति भएका थिए ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सिफारिशमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा.खनाललाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरेका हुन् । उनलाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरेको पत्र आज प्रतिष्ठानमा आइसकेको छ ।

निमित्त हुदा उनलाई तलब, विजुली, पानी र टेलिफोन तथा दैनिक कार्यसञ्चालनको खर्च गर्ने अधिकार मात्र दिइएको थियो । जसले गर्दा विकास निर्माण, सरुवा, बढुवा, भर्नालगायत महत्वपुर्ण तथा दीर्घकालिन निर्णय गर्ने उनको अधिकार थिए । अब कार्यवाहक उपकुलपति भएपछि भने उनलाई उपुकलपति सरहकै अधिकार आएको छ । ‘मन्त्री ज्युको सिफारिशमा प्रधानमन्त्रीबाट निर्णय भएर कार्यवाहक उपकुलपति नियुक्ती भएको हो, पत्र आज आइसक्यो,’डा.खनालले भने,‘प्रतिष्ठानको विकास, उन्नति, गुणस्तरीय सेवा वृद्धिमा योगदान दिनेछु ।’

प्रतिक्रिया

सम्बन्धित