पूर्वाञ्चल क्यान्सर हस्पिटलले मंसिरदेखि ओपिडी सेवा सुरूवात गर्ने

झापा । बिर्तामोडमा निर्माणाधीन पूर्वाञ्चल क्यान्सर हस्पिटलले मंसिर १ गतेदेखि ओपिडी सेवा संञ्चालन गर्ने भएको छ । पूर्वकै सुविधा सम्पन्न बिएन्डसी टिचिङ हस्पिटलमातहतमा रहेको उक्त क्यान्सर हस्पिटलको निर्माण कार्य अन्तिम पुगेसँगै हस्पिटल सञ्चालनको तयारी गरेको हो ।मंसिरमा ओपिडी सेवा सञ्चालनमा ल्याउने र पुस पहिलो साताबाट रेडियसनसमेत सञ्चालनमा ल्याउने हस्पिटलका कार्यकारी निर्र्देशक दुर्गा प्रसाईले जानकारी दिए । सेवा सञ्चालन गर्नका लागि भोलि मंगलबारदेखि रेडियसन मेसिन जडान कार्य सुरु गरिने भएको छ । डा. वीरेन्द्र यादवका अनुसार उक्त मेसिन जडान गर्न तीन महिना लाग्नेछ ।विश्वस्तरीय क्यान्सर हस्पिटल निर्माण भइरहेको दाबी गर्दै कार्यकारी निर्देशक प्रसाईले जुनसुकै क्यान्सर रोगको उपचारको लगि बिदेश जान नपर्ने बताए ।

उनले अत्याधुनिक मेसिनबाट उपचार हुने र जुन भागमा क्यान्सर लागेको हो त्यही भागमा मात्र रेडियसनद्वारा उपचार गर्ने जानकारी दिए ।उनले क्यान्सर रोगको उपचार पद्दति अमेरिका र सिंगापुरकै भएको भन्दै क्यान्सर रोगका लागि उपचार गर्न विदेसिनुपर्ने बाध्यता हट्ने दाबी गरेका छन् । क्यान्सर हस्पिटलको निर्माण र सञ्चालनसँगै पूर्वको बिर्तामोडमा स्वास्थ्यको हब बनाउने सपना पूरा हुने पनि उनको भनाइ छ ।

यसैबीच, पुर्वाञ्चल क्यान्सर हस्पिटल परिसरमा आजबाट घटस्थापनाको पूजा अर्चना सुरु भएको छ। घटस्थापनाको लागि दुर्गा देवीको मुर्ति उक्त हस्पिटलको ‌‌प्राङ्गणमा राखिएको छ। सो मुर्तिलाई सप्तमिको दिन चारआलीको पाऊ पाथिभरा मन्दिरलाई विशेष बाजा गाजासहित हस्तान्तरण गरिने हस्पिटलका जनसम्पर्क अधिकारी प्रामिश गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित